सात दल र माओवादीसँग राजा ज्ञानेन्द्रले घुँडा टेकेको दिन, तर बिर्सिए प्रधानमन्त्री-राष्ट्रपतिले !

सात दल र माओवादीसँग राजा ज्ञानेन्द्रले घुँडा टेकेको दिन, तर बिर्सिए प्रधानमन्त्री-राष्ट्रपतिले !

काठमाडौं : आज वैशाख ११ गते। अर्थात् नेपालमा लोकतन्त्र स्थापना भएको १८ औँ वर्ष पूरा भएको दिन। 

तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ। सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिकासामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो। 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दिएको थियो। 

२०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०६३ वैशाख ११ गते पुनःस्थापना भएपछि वि.सं. २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। 

०६२/६३ को जनआन्दोलनले बनाएको मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। त्यही घोषणालाई आधार मान्दै लोकतन्त्र दिवस मनाउन थालिएको हो। त्यसैको जगमा संविधानसभाको गठन भई नयाँ संविधान जारी भएर मुलुक यहाँसम्म अघि बढेको हो। 

तर, पछिल्ला वर्षहरूमा लोकतन्त्र प्राप्तिको ऐतिहासिक दिनलाई समेत राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू धेरैले यसलाई वेवास्ता गर्न थालेको देखिन्छ। 

आज पनि राष्ट्रपति रामचन्द्र पौडेल देखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मले लोकतन्त्र दिवसको शुभकामना समेत दिएनन्। कार्यक्रम गरेर यस दिनलाई सम्झिँदै लोकतन्त्र सुदृढीकरण गर्ने योजनाहरू तयार गर्नु त कता हो कता शुभकामना सम्मै दिएनन्। 

त्यसो त सुरुवातमा लोकतन्त्र दिवसमा सरकारले सार्वजनिक विदा नै दिने गरेको थियो भने विशेष उत्सवकारुपमा मनाउने गरिएको थियो। तर पछि गणतन्त्र दिवसलाई विशेषरुपमा मनाउने अभ्यास सुरु भएपछि लोकतन्त्र दिवस ओझेलमा परेको देखिन्छ।

सँगैमा लोकतन्त्र स्थापनाको १८ वर्षसम्म पनि जनताका अपेक्षा भने पूरा हुन सकेका छैनन्। जहानियाँ शासनबाट मुक्ति मिलेपनि जनतामा निराशा निरन्तर कायम छ। सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति असन्तुष्टि चुलिएको छ।  

त्यतिमात्र होइन, आजकै दिन कतारी अमिरको नेपाल भ्रमणका कारण उच्च पदस्थहरू त्यतै रूमल्लिएको देखिन्छ। तर, कतिपयले यसलाई देशका तत्कालीन राजालाई घुँडा टेकाएर लोकतन्त्र प्राप्ति गरेको दिनलाई अन्य देशको राजाको सम्मानमा खर्चिँदा इतिहासलाई नै बिर्सिएको भनेर समेत टिप्पणी गरेका छन्।   

११ बैशाख, २०८१, २२:१४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।