हरेक फिल्ममा 'काजी'कै जस्तो अभिनय गरेको भन्नेहरूलाई दयाहाङले दिए अमेरिकनको उदाहरण

हरेक फिल्ममा 'काजी'कै जस्तो अभिनय गरेको भन्नेहरूलाई दयाहाङले दिए अमेरिकनको उदाहरण

काठमाडौं : अभिनेता दयाहाङ राई एकपछि अर्को फिल्ममा काम गरिरहेका छन्। उनको फिल्मका छायांकन र प्रदर्शन हुने फिल्मको सूची  ब्याक टु ब्याक आइरहेको छ। 

गत वर्ष मात्रै उनको ८ वटा फिल्म प्रदर्शनमा आए भने उत्तिकै मात्रामा उनले फिल्मको छायांकन सकाए। उनले जति पनि फिल्ममा अभिनय गरेका छन् ती अधिकांश फिल्ममा उस्तै अभिनय रहेको आरोप खेप्दै आएका छन्। उनको अभिनयमा कुनै फरकपन नआएको समीक्षक, फिल्मीकर्मी तथा दर्शकबाट टिप्पणी भइरहन्छ।

सोमबार ललितपुरको एक क्याफेमा यही प्रश्न उठ्यो। यही वैशाख २१ गते प्रदर्शनमा आउने फिल्म ‘मनसरा’को टिमले राखेको प्रेसमिटमा पत्रकारले यही प्रश्न उठाए। 

तपाईको अभिनय उस्तै उस्तै भएको कमेन्टहरू आइरहेको छ, तपाईँको हरेक भूमिकामा नाम नदिने हो भने काजीकै भूमिका गरिरहनुभएको छ भन्ने आभास हुन्छ नि? भन्ने प्रश्नमा उनले आफूले फरक तरिकाबाट अभिनय गर्न नसकेको स्वीकार गर्दै फरक तरिकाबाट हेर्न सुझाव दिए। 

‘हरेक व्यक्तिको एउटा लिमिटेसन हुन्छ। आफ्नो कन्फट जोन भनुँम या रिक्स लिनु नसकेको हो की। यो कुरा म स्वीकार गर्छु,’ उनले भने। 

उनले आफ्नो अभिनयको कुरालाई विदेशी पर्यटकसँग जोडेर उदाहरण दिए। 

‘पहिला पहिला विदेशीहरू गाउँघरमा देखियो भने कहाँको अमेरिकन रैछ भन्ने गरिन्थ्यो। त्यो जहाँसुकै देशको होस्, गोरो र अग्लो अनुहार परेको देख्ने वितिक्कै अमेरिकन भनिन्थ्यो। त्यसलाई अलिकति नियालेर हेर्यो भने काँही न काँही फरक भेटिन्छ कि? अर्कै देशको पो हो की? भन्ने लाग्थ्यो नि,’ उनले भने। 

उनले आफ्नो अभिनय हरेक फिल्ममा फरक रहेको तर काजीको भूमिकामा नै हेरेर फरक तरिकाले हेर्न नसकेको उनको बुझाई छ। 

उनले आफूलाई उस्तै अभिनय भयो भन्नेहरूले कसरी गर्न सकिन्छ, यस्तो भूमिका गरेको भए भन्ने सुझाव दिए आफू  सोही अनुसार अभिनय गर्ने उनले बताए। 

‘मैले आफै कोसिस गर्दा गर्दै डाइरेक्ली उस्ताउस्तै भयो भन्ने प्रतिक्रिया आएको छ,’ उनले सुझाव माग्दै भने, ‘तर के कारणले चाही त्यस्तो आयो, के कारणले गर्दा तिमी फरक देखिन्छौ भन्ने खाल्को कुरा समीक्षामा पनि, आलोचनामा पनि म कहाँ आइपुग्यो भने मसँग काम गर्न आउने डिरेक्टरसँग कुरा राखेर म आफै कोसिस गर्थे।’

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यस फिल्म ‘मनसरा’मा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। 

फिल्ममा लगानी छायांकार शैलेन्द्रध्वज कार्कीले निर्माण गरेका हुन्। 

११ बैशाख, २०८१, २०:१९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।