'ढाकाकुमारलाई आरोप लागेको ७२ घन्टाभित्र कारबाही हुने, लामिछानेमाथि छानबिन पनि नहुने?'

'ढाकाकुमारलाई आरोप लागेको ७२ घन्टाभित्र कारबाही हुने, लामिछानेमाथि छानबिन पनि नहुने?'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन्।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरूले गृहमन्त्री लामिछानेलाई दोषी नै करार नगरेको तर छानबिन चाहि हुनुपर्ने माग राखेको प्रस्ट पारे। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले केही समयअघि मात्रै आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई आरोप लाग्नासाथ ७२ घन्टाभित्र हटाएको कुरालाई स्मरण गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरे।

उनले भने, 'गृहमन्त्रीलाई सहकारी ठगीको दोषी नै हो भन्दिनँ, यति भन्छौँ तपाईँको विषयमा उठेका प्रश्नको गम्भीर छानबिन हुनुपर्छ। ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईँसँग दुई करोड मागे रे कुनै प्रमाण थिएन, कुनै डकुमेन्ट थिएन, उनलाई सांसद पदबाट बर्खास्त गर्न लेखेर दिए। ए कस्तो लोकतन्त्र? कस्तो न्याय? सांसदलाई आरोप मात्रै लाग्दा उसको पद बर्खास्त गर्नुपर्ने, अनि सभापतिको सन्दर्भमा दर्जनौँ प्रमाण हुँदै गर्दा छानबिन गर्नुपर्दैन भन्ने यो कस्तो लोकतान्त्रिक पद्धति हो?'

सहकारी पीडितहरूलाई न्याय दिनको लागि इलामका जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ। 

'यो बेलामा इलामले गम्भीरतापूर्वक सोच्न जरुरी छ, हामीले दिएको मतले छानबिनको प्रक्रिया रोकियोस्, ५० हजारभन्दा बढी मानिसहरूको डुबेको छ ती रोइरहुन् भनेर,' उनले भने।  

११ बैशाख, २०८१, १८:३८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।