लुम्बिनी अस्पतालमा प्रदेश सरकार : १२ करोडमा भाडा लाग्ने सटर भत्काएर छ करोड सोधभर्ना, बीमाको ११ करोड पनि रोकियो
बुटवल : ०७६ सालसम्म बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको परिसर वरपर व्यावसायिक सटरहरू थिए। ७३ वटा व्यावसायिक सटरहरू भाडामा लगाएर अस्पतालले वार्षिक १२ करोड रुपैयाँ आम्दानी गर्थ्यो।
अस्पताल परिसरमा खोलिएका क्लिनिक र फार्मेसीमा डाक्टरहरूले बढी समय दिने तर अस्पतालभित्र कम समय दिने गरेको चौतर्फी गुनासो र आलोचनापछि तत्कालीन प्रदेश नम्बर ५ सरकारले ०७६ माघ २३ गते अस्पतालका सटरमा डोजर चलायो।
व्यवसायीहरूलाई सटर खाली गर्न अनुरोध गरे पनि अटेर गरेपछि सरकारले डोजर चलाएर सटरहरू भत्कायो। अस्पताल क्षेत्र कुरूप बनेको र बेथिती बढेको भन्दै व्यावसायिक सटरमा डोजर चलाएको प्रदेश सरकारले त्यहाँ आकर्षक बगैँचा बनाउने घोषणा गर्यो।
अस्पतालले सटर भाडाबापत आम्दानी गर्ने रकमबाट अस्पतालमा सेवा विस्तार मात्रै भएको थिएन। स-साना उपकरण खरिद समेत हुने गरेको थियो। सटर भाडा बापतको आम्दानी गुमेपछि सरकारले केही रकम वार्षिक रूपमा अस्पताललाई सोधभर्नाबापत दिने निर्णयसमेत गर्यो।
‘दरबन्दी धेरै छैन। करार कर्मचारीबाट काम गराउनुपर्छ। त्यो सटर भाडा बापत आउने रकमले कर्मचारीलाई तलब खुवाउनेदेखि केही उपकरण खरिद गर्ने गरेका थियौं’, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुदर्शन थापाले भने।
सटर भाडा बापत आम्दानी हुँदा अस्पतालमा केही सामान्य मेसिन बिग्रिहाले बनाउन स्वास्थ्य मन्त्रालयको निर्णय र बजेट कुर्नुपर्ने बाध्यता थिएन। अस्पतालले आफ्नै आयस्रोतबाट गर्दै आएको थियो।
तर, अहिले अस्पतालले अहिले सटर भाडा बापत प्राप्त गर्ने आन्तरिक आयस्रोत घटेको छ। ६ वर्षदेखि आन्तरिक स्रोत घट्दा यसको प्रभाव सेवा प्रवाहदेखि उपकरण खरिदसम्म परेको छ।
सटर भत्काउँदा प्रदेश सरकारले वार्षिक ६ करोड सोधभर्ना बापत अस्पताललाई दिने बताए पनि शुरूका दुई वर्ष ६/६ करोड दिए पनि त्यसपछि भने दिएको छैन। विगत चार वर्षदेखि अस्पतालले रकम नपाएको मेडिकल सुपरिटेण्डेन्ट डा. थापाले बताए।
‘हामीसँग त्यो स्रोत थियो भने अस्पताललाई आवश्यक केही मेसिन आफैँ खरिद गर्न सक्ने थियौँ। अस्पतालमा विगत केही महिनादेखि ल्याप्रोस्कोपी मेसिन बिग्रिए पनि बजेट अभावले बनाउन सकेका छैनौँ। यदि स्रोत भए हामीले तत्काल खरिद गर्न सक्थ्यौँ’, उनले भने।
साथै उनले सोध भर्ना बापत दिने भनिएको वार्षिक ६ करोड रुपैयाँ सरकारलाई दिन आग्रह समेत गरे। अस्पतालले ल्याबको चेकजाँच, एक्सरे, औषधि र बीमाबाट रकम प्राप्त गर्ने गरेको छ। तर मंसिरदेखि बीमाबापतको पाउनुपर्ने ११ करोड रुपैयाँ पनि अस्पतालले पाएको छैन।
‘आन्तरिक श्रोत व्यवस्थापनमा कठिनाइ भएको छ। हामीले बिग्रेका उपकरण समेत बनाउन सकेका छैनौं। प्रदेश सरकारलाई बजेटका लागि भने पनि सुनुवाइ भएको छैन। मेसिन बिग्रिएर सेवा दिन नपाउँदा हामीमाथि प्रश्न समेत उठ्न गरेको छ’, उनले भने।
साथै उनले भुक्तानी रोकिँदा सप्लायर्सहरूले औषधि नदिने हुन कि भन्ने डर रहेको बताए।
‘औषधि बाहिरबाट ल्याउनुपर्छ। भुक्तानी नदिने हो भने औषधि सप्लायर्सहरूले नदिन सक्छन्। कतै त्यहि कारण सेवा खस्किने हो कि भन्ने डर छ’, उनले थपे।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले अस्पतालमा विशिष्टकृत सेवा प्रभावहका लागि सरकारबाट गर्न सकिने सहयोग गर्ने बताए।
‘केही नीतिगत अप्ठ्यारा विषयहरूको समधान गरेर भए पनि सेवालाई चुस्त बनाउनेछु। केही विषय अस्पतालबारे आएका छन्। यसमा म गम्भीर छु’ उनले भने।
ल्याप्रोस्कोपी मेसिन बिग्रँदा सास्ती
अस्पतालमा ल्याप्रोस्कोपी मेसिन बिग्रँदा सेवाग्राहीले सास्ती पाएका छन्। अहिले अस्पतालमा एउटा मात्र ल्याप्रोस्कोपी मेसिन छ। एउटा मात्र उकरण हुँदा अपरेशन गर्नुपर्ने बिरामीलाई एक वर्षसम्म पालो कुर्नुपर्ने अवस्था रहेको मेसु थापाले बताए।
उनले भने, ‘हामीले राम्रो गर्ने प्रयास गर्दागर्दै पनि उपकरण अभावले समस्या छ। बिग्रिएको एउटा ल्याप्रोस्कोपी मेसिन पनि बनाउन सकिएको छैन। अझै ४ वटा मेसिन थप गर्ने हो भने पनि सेवाग्राहीले एक वर्ष पालो कुर्नुुपर्ने समस्या एक चौथाइमा घट्नेछ।’
बिरामीको चाप बढ्दो
पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा सेवा प्रभावमा सुधार भएसँगै अहिले अस्पतालमा बिरामीको चाप बढेको हो। अहिले अस्पतालमा दैनिक २ हजार भन्दा बढी बिरामीले सेवा लिइरहेका छन्।
‘हामीले सुविधा सम्पन्न भवन बनायौं। त्यसले सेवा प्रभाव छिटो र छरितो बनायो। त्यसै कारणले पनि बिरामीको चाप बढेको हो’, मेसु थापाले भने।
दैनिक दुई हजारभन्दा बढी बिरामी आउने अस्पतालमा अहिले पनि जनशक्तिको भने अभाव छ। अस्पतालमा चिकित्सक (विशेषज्ञ मेडिकल अधिकृत) १२७ जना, नर्सिङ्ग कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी ९, लेखा र आई टी २८ जना, कार्यालय सहयोगी/सरसफाईकर्मी १८९, सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारी रहेका छन्।
प्रयाप्त दरबन्दी नहुँदा अस्पतालले करार कर्मचारी भर्ना गरेर सेवा दिने गरेको छ। अहिले २३ शय्याको मेडिकल वार्ड विस्तार गरि ४५ शय्या पुर्याइएको छ। पेयिङ्ग वार्ड २२ शय्या, डायलाइसिस ६ शय्या बाट १९ शय्यामा विस्तार गरिएको छ।
१९ शय्यामध्ये ३ शय्या शेरोपोजेटिभ केशको लागि, १ शय्या आई.सि.यु को लागि तथा १ शय्या कोभिडको लागि छुट्टाइएको छ। आईसीयू ५ शय्याबाट २६ विस्तार गरिएको छ भने ८ शय्याको सीसीयू सञ्चालनको लागि तयारी अवस्थामा छ। ६ शय्याको वर्न वार्ड तथा ५२ शय्याको अर्थोपेडिक वार्ड सञ्चालनमा ल्याइसकिएको छ। दुई शय्याको डेण्टल ओ.पि.डी १० शय्यामा बिस्तार गरिएको छ।
अस्पतालमा कार्डियोलोजी, नेत्र रोग, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी जस्ता विशिष्टिकृत सेवा सञ्चालन गरिएको छ। पुरानो भवनमा ४० शय्याम सञ्चालन रहेको इमर्जेन्सी सेवा हाल आईसीयू भएको भवनमा ६० शय्यामा सञ्चालन गरिएको छ।
वैशाख ११, २०८१ मंगलबार १०:१७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।