आज १८औं लोकतन्त्र दिवस मनाइँदै

आज १८औं लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं : नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ। लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ। मंगलबार १८औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीसमेतको सहभागितामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिसामु आजकै दिन राजतन्त्रले घुँडा टेकेको थियो।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए।

सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो।

२०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

त्यसैको जगमा संविधानसभाको गठन भई नयाँ संविधान जारी भएर मुलुक यहाँसम्म अघि बढेको हो।

लोकतन्त्र स्थापनाको १८ वर्षसम्म पनि जनताका अपेक्षा भने पूरा हुन सकेका छैनन्। राजतन्त्र हटे पनि जनतामा निराशा निरन्तर कायम छ। सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति असन्तुष्टि चुलिएको छ।

सुरूवातमा लोकतन्त्र दिवसमा सरकारले सार्वजनिक विदा नै दिने गरेको थियो भने विशेष उत्सवका रूपमा मनाउने गरिएको थियो। तर, पछि गणतन्त्र दिवसलाई विशेष रूपमा मनाउने अभ्यास शुरू भएपछि लोकतन्त्र दिवस ओझेलमा पर्यो।

यो वर्ष भने कतारी अमिरको नेपाल भ्रमणका कारण सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

११ बैशाख, २०८१, ०९:०६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।