कतारी अमिरको भ्रमणमा श्रम सम्झौता अनिश्चित, शिक्षा र खेलकुद सम्बन्धी सम्झौताको तयारी

कतारी अमिरको भ्रमणमा श्रम सम्झौता अनिश्चित, शिक्षा र खेलकुद सम्बन्धी सम्झौताको तयारी

काठमाडौँ : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको क्रममा युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षीलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हुन लागेको दुई दिने राजकीय भ्रमणको क्रममा दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने छ।

राष्ट्रपतिको कार्यालयका अनुसार उनी मङ्गलवार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिदा राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।

सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। कतारी अमिरले मङ्गलवार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन्। राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गर्नेछन्।

कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने टुङ्गो लागेको छैन।

कतारमा हाल झन्डै चार लाख नेपाली कामदार कार्यरत छन्। कतारका अमिर थानी वैशाख १२ गते अपराह्न स्वदेश फर्किने छन्।

वैशाख १०, २०८१ सोमबार २३:१७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।