श्रममन्त्रीको आग्रह : 'वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र खानाको व्यवस्था गरिदिनुस्'

श्रममन्त्रीको आग्रह : 'वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र खानाको व्यवस्था गरिदिनुस्'

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। 

सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र श्रम मन्त्रालयबीच भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रूपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरे। 

वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व तथा मलेसिया जाने श्रमिकहरूले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने, यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने भएपनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन्। 

वैदेशिक रोजगारीमा जाँदा घण्टौँसम्म भोक भोकै बस्नु पर्ने अवस्था भएको भन्दै मन्त्री अर्यालले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन आग्रह गरेका हुन्।

‘मुलुक भित्रै अवसरमा नपाएर युवाहरू बिदेसिन्छन्। बिदेसिँदै गर्दा पनि हामी श्रमिकलाई घण्टौँसम्म भोकै राख्छौ,’ उनले भने, ‘कम्तीमा पनि जहाज भित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस्।’

जवाफमा  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायीहरू पनि सकारात्मक रहेको बताए। 

वैशाख १०, २०८१ सोमबार २१:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।