सक्रिय राजनीतिमा आउन चाहन्छिन् पूर्वराष्ट्रपति भण्डारी, तर ओली बाधक बनेपछि अलमलमा

सक्रिय राजनीतिमा आउन चाहन्छिन् पूर्वराष्ट्रपति भण्डारी, तर ओली बाधक बनेपछि अलमलमा

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अडकलबाजी शुरु भइसकेको थियो।

कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट संचालन गरिरहेको आरोप लगाउने गरेका थिए। केही हदसम्म त्यो सत्यपनि थियो।

उनकै जोडबलमा मन्त्री नियुक्तिदेखि अन्य निकायमा नियुक्तिको चलखेल हुने गरेको एमालेकै नेताहरु स्वीकार्ने गर्छन्। त्यतिमात्र होइन, एमालेको आन्तरिक राजनीतिमा भण्डारीको आफ्नै स्वार्थ रहने गरेको चर्चा थियो।

आज भण्डारी निकट केपी शर्मा ओली एमाले अध्यक्ष भएकै बखत उनलाई पार्टी मुख्यालयमै निम्ता गरेर गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरिएको छ।  

नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई ओली लगायतले सम्मान गरे।

सम्मान समारोहमा उनले व्यक्त गरेका अभिव्यक्ति कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याका बारेमा केन्द्रित थियो। नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवाद भन्नेमा उनको जिज्ञासा थियो।

उनको अभिव्यक्ति र सम्मानलाई लिएर कतिपयले भण्डारीलाई सक्रिय राजनीतिका निम्ति ढोका खुकुलो बनेको अडकल शुरु भएको छ।

एक बर्ष पहिले नै शीतल निवास छाडेर आफ्नै निजी निवासमा बसाइ सरेकी भण्डारीले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुलाई पनि विशेष अर्थमा हेरिएको थियो। जसका कारण ६१ वर्षीया भण्डारीलाई सक्रिय राजनीतिमा आउन सहज बनाइसकेको थियो।

निजी निवास सर्दैगर्दा पनि उनका राजनीतिक सल्लाहकार लालबाबुप्रसाद यादवले अवकाशपछि राष्ट्रपति भण्डारीले राज्यबाट पाइने सेवा–सुविधा नलिने निर्णय गरिसकेकाले समय र परिस्थितिअनुसार राजनीतिमा फर्किने निर्णय गर्न सक्ने बताएका थिए। तर भण्डारीले सबै कुरा परिस्थितिले निर्धारण गर्ने बताउँदै आएकी छिन्।

सोमबारको विशेष सम्मान मात्र होइन भण्डारीलाई राजनीतिमा ल्याउने प्रशस्त आधारहरू तय हुँदै गएका छन्।  

आउँदो जेठमा हुने राष्ट्रिय महिला भेलामा भण्डारीलाई प्रमुख अतिथि बनाउने तयारी भइरहेको एमाले निकट स्रोतले बतायो। १६ र १७ जेठमा हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला भण्डारीको प्रमुख आतिथ्यमा गर्ने निर्णय ५ वैशाखमै बसेको जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठकले गरिसकेको बताइन्छ।

एमालेभित्रको ओली खेमा पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन जबरजस्त प्रयास गरिरहेको बुझिन्छ। ओलीपछि पार्टी नेतृत्व गर्ने उपयुक्त पात्रको खडेरी देखिएकाले भण्डारीलाई सक्रिय गराउने रणनीतिमा छ।

हुन त २०७९ फागुनमा शीतल निवास छाडेर चपली सरेकी भण्डारी पार्टीका आधिकारिक कार्यक्रममा सहभागी भएकी थिइनन्। सोमबारको कार्यक्रममा सम्मान ग्रहण गर्नुलाई राजनीतिक विश्लेषकहरुले राजनीतिमा आउने नभइ सम्मानित पोजिसनमा बस्नुपर्ने सन्देश दिन खोजेको भनेर बुझेका छन्। 

राजनीतिमा फर्किने कि नफर्किने भण्डारीको इच्छा, जनताको चाहना र आवश्यकतालगायतको परिस्थितिले निर्धारण गर्ने राजनीतिक विश्लेषकहरुको बुझाइ छ।

भण्डारीको इच्छा पनि राजनीति नभइ सामाजिक कार्यक्रममा सक्रिय हुने रहेको बुझिन्छ। मदन भण्डारी फाउन्डेसनको संरक्षक बनेर त्यसलाई थप सामाजिक काममा क्रियाशील बनाउँदै जनताको बीचमा पुग्ने भण्डारीको इच्छा रहेको उनी निकटका व्यक्तिहरू बताउने गर्छन्।

तर जनवर्गीय संगठनकै कार्यक्रममा निम्ताउनुलाई राजनीतिमा स्पेस जीवित छ भनेर बुझ्नेहरू पनि प्रशस्त छन्। पूर्वराष्ट्रपति भण्डारीको हालको उमेर, मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासतका कारण पनि उनलाई सक्रिय राजनीतिमा आउने आधारहरू कार्यकर्ताले देख्ने गरेका छन्।

सक्रिय राजनीतिमा आउने आधारहरूका रुपमा भण्डारीका विगतका दिनहरुले पनि प्रष्ट पार्ने गरेको छ। किनकी पार्टीको नवौं राष्ट्रिय महाधिवेशनपछि तत्कालीन अध्यक्ष ओलीपछिको शक्तिशाली उपाध्यक्षका रुपमा भण्डारीले राष्ट्रपति निर्वाचित हुनुअघि अलग्गै समूह निर्माणको कसरत गरेकी थिइन्।

उनले १० औं महाधिवेशनलाई लक्षित गरेर अलग्गै समूह खडा गर्ने प्रशस्त प्रयास गरेकी थिइन। तर ओलीको चाहना, परामर्श र प्रस्तावमा दुवै पटक राष्ट्रपति बनेपछि उनले राजनीतिक बहसलाई विट मारेकी थिइन्। 

तर, कार्यकाल समाप्त भएर निजी निवास प्रवेश गर्नुअघि धेरै कार्यकर्ताले सक्रिय राजनीतिमा आउन जोडबल गरिरहेका थिए र छन्।

एमाले निकट स्रोतहरूका अनुसार भण्डारी निकट भविष्यमै राजनीतिमा आउन  मन नगरेकी भने होइनन्। तर, पार्टीभित्र उनीनिकट मानिने अध्यक्ष ओली हावी भइरहेको बेला भण्डारीको पोजिशन के हुने भन्ने बारेमा प्रश्न उठेपछि उनी मौन छिन्। 

यसअघि पनि सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले भण्डारी तत्काल सक्रिय राजनीतिमा नआउन भन्ने आशयको अभिव्यक्ति दिइसकेका छन्।

हुन पनि ओलीले अझै 'विस वर्ष सक्रिय राजनीतिमै रहन्छु, कपाल उम्रिन थालिसक्यो, कसैले आश नगरे हुन्छ' भन्ने जस्तो अभिव्यक्ति दिइरहेका बेला भण्डारी एमालेभित्र कहाँ अटाउने भन्ने प्रश्न छ।  

वैशाख १०, २०८१ सोमबार २०:२६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।