कतारी राजाको नेपाल भ्रमण : स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने, 'खगेन्द्रप्रसाद' र 'रुद्रकली' उपहार दिने

कतारी राजाको नेपाल भ्रमण : स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने, 'खगेन्द्रप्रसाद' र 'रुद्रकली' उपहार दिने

काठमाडौं : कतारका राजा भोलि नेपाल आउँदै छन्। 

कतारी अमिर (राजा)  शेख तमिम बिन हमाद अल थानीको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको बताइएको छ। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन्। 

अमिरलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले अमिर नेपाल आउन लागेको आधिकारिक घोषणा गर्दै मंगलबार सार्वजनिक बिदा समेत दिएको छ। 

नेपालमा रहँदा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन् भने राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गरेका छन्।  यस्तै, एकदिने भ्रमणमा अमिरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्नेछन्। 

भ्रमणका क्रममा अमिरलाई नेपाल सरकारले दुई हात्ती उपहार दिने तयारी गरेको छ। 

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको बताइएको छ। 

उनीहरुलाई कतार एयरलाइन्सको जहाजमार्फत लगिनेछ।

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको हो।

अहिलेसम्म गैँडा लगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले पहिलोपटक हात्ती उपहार दिन लागेको हो। 

१० बैशाख, २०८१, १७:२७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।