७५ वर्षीय फोटोग्राफर जीतमानको सहारा : केही थान क्यामेरा अनि भक्कानो फुटाउने दयालक्ष्मीको याद
जिन्दगी नै फोटोग्राफीमा समर्पित गरेका जीतमानसँग फोटो अनि त्यससँग जोडिएका यादहरूका पहाड छन्। उमेरले ७५ टेकेका उनीसँग अब केहि बक्सा फोटो र अरबौं यादहरू छन्। जसले उनलाई सन्तुष्टिको अनुभूतिसँगै भक्कानो फुट्ने गरि रुनको लागि आँशु पनि दिन्छ।
आफ्नो ६१ वर्षीय फोटोग्राफी करियरमा उनले थुप्रै उतारचढाव देखे। तर, पछिल्ला १४ वर्ष जतिको ओरालो लागेको कहिले पनि महसुस गरेनन्। उनले फोटोग्राफी सिकाएको व्यक्तिहरू ‘ठूला मान्छे’ भइसके। उनी भने अहिले पनि कुनै एउटा संघर्षरत फोटोग्राफर झैँ देखिन्छन्।
अब उनको गोडाहरूले विस्तारै साथ दिन गाह्रो मानिरहेका छन् भने आँखाले पनि काम गर्न छाडिसक्यो। देख्नै समस्या हुन थालेपछि अर्को महिना आँखाको अप्रेशन गर्दैछन् उनी।
१४ वर्ष भयो उनलाई दयालक्ष्मीले सधैँको लागि छोडेर गएको। तर, उनले आफ्नी श्रीमतीलाई नसम्झिएको एक पल पनि छैन। उनी दयालक्ष्मीको फोटो हेर्दै घण्टौसम्म टोलाएर बस्छन्। आफ्नो विगत सम्झन्छन् अनि कहिले मुस्कुराउने, कहिले आँशु खसाल्छन्।
धरानमा सिकेको फोटोग्राफी
नेवार भए पनि उनी नेवार कुरा जान्दैनन्। बरु बोल्दा राईलिम्बु लवज आउँछ। धरानमा जन्मिए अनि उतै हुर्किए उनी। धनकुटाबाट धरान पुगेको भन्नेसम्म सुनेका उनलाई त्यसअघिका कहानी थाहा छैनन्। आज भन्दा ८०/९० वर्ष अगाडि धनकुटामा अनौठो किसिमको घटना घट्यो। बालबालिकाहरू भटाभट मर्न थाले।
पछि उनको आमाबाबा सबै सन्तान लिएर धरान आए। उनको आमाले आठ जना सन्तानलाई जन्म दिएकी थिइन्। तर, धरान पुग्दा चार जना मात्र बाँकी रहे। जीतमान त्यसबेला दुधे बालक नै थिए। उनी एघार महिनाको हुँदा उनको बाबा पनि बिते। त्यसपछि सबैको जिम्मा स्वत: आमामाथि आयो। उनको आमाले बच्चा ‘बचाउन’ कुनै पनि कसर बाँकी राखिनन्।
‘मेरो बुवा त मैले देखेको पनि याद छैन। म ११ महिना हुँदा मेरो बाबा बित्नुभएको रे। म सबैभन्दा सानो छोरो,’ उनी विगतमा पुगे, ‘अहिले मेरो आमा हुनुभएको भए ११५ वर्ष उमेरको हुनुहुन्थ्यो। अब दाइदिदी हुनुहुन्छ। ८६ र ८९ वर्ष पो पुग्नुभयो। मेरो आमाले हामीलाई चिउरा बेचेर हुर्काउनु भएको हो नि!’
उनको आमाले कान्छो छोरालाई केहि पनि नहोस् भनेर अनेक कोशिस गरे। तर, उनलाई पनि पोलियो भइसकेको रहेछ। छोरा राम्रोसँग हिँडिरहेको र कुदिरहेको भएर आमाले उनलाई पोलियो भएको थाहै पाइनन्। तर, जीतमान जति धेरै उफ्रिन सक्थे उनको गोडाको ब्यालेन्स त्यतिनै डगमगाउथ्यो।
‘मैले त्यसबेला नै मेरो खुट्टालाई केहि हुनुहुँदैन, म जसरी नि राम्रोसँग हिड्न सक्नुपर्छ भनेर सोचिसकेको थिएँ’, उनी सुनाउँछन्।
उनी स्कुल जान्थे। छुट्टी भएपछि कलम र पेन बेच्दै घर फर्किन्थे। कहिले मेलामा चप्पल बेच्न जान्थे। उनलाई चित्रकलामा औधि रुचि थियो। अगाडि मान्छे राखेर हुबहु चित्र बनाइदिन्थे। त्यसबेला धरानमा फोटोको क्रेज बढिसकेको थियो। आफूले हातले बनाउने चित्रभन्दा राम्रो एउटा मेसिनले बनाएको देखेर उनी जिल पर्थे। त्यहि बेलादेखि हो उनलाई फोटोग्राफी प्रति चाख बढेको।
२०२२ सालमा एसएलसी दिएसँगै उनलाई फोटोग्राफीको अफर आयो। कारण उनको चित्रकारिता नै थियो। त्यसबेला फोटो सम्पादन हातैले हुन्थ्यो। उनलाई ‘रिटच’को काम दिइयो। उनी पनि फोटोलाई राम्रो बनाउन कसिएर लागे। गुरुले फोटो खिच्ने, अनि उनले त्यसलाई फाइनल टच दिने। बक्साबाट फोटो निस्केको देख्दा तीनछक पर्थे उनी। फोटोग्राफीको हावाले छोएपछि उनले पढाइलाई अगाडि बढाउन सकेनन्।
‘त्यतिबेला पनि धरानमा धेरै फोटोग्राफर थिए। म त पछिको हो। उनीहरूले काम गरेको देख्दा मलाई मज्जा आयो। डार्क रुममा लगेर खिचेको फोटो कस्तो राम्रो आएको। धरानमा २०२२ सालमा बत्ती आएको। मलाई त राम्रो-राम्रो कुरा सिक्न पाउने भएँ भन्ने लागेर झन् फ़ुर्किएर सिकेको नि! त्यसबेला मैले पनि १९ सयको क्यामेरा किनेको थिएँ। सबै कुरा इच्छा रहेछ,’ उनले फटाफट सुनाए।
छ महिनामा त उनले सबै कुरा सिकिसकेका थिए। फोटोग्राफीमा रमाइरहेका उनले त्यसबेला आफ्नो साथीहरूले भन्दा धेरै कमाउन थाले अनि लगत्तै खुट्टाको उपचार गर्ने भनेर काठमाडौं आए।
‘२०२८ सालमा प्लेन भाडा ८५ रुपैयाँ तिरेर, म खुट्टा बनाउन पहिलोपटक काठमाडौं आएको। सन्जोगले डाक्टर पनि राम्रो भेटेँ। तर, अब बुढेसकाल लागेर पनि होला बढि नै दुख्न थालेको छ’, गोडा देखाउँनै उनले भने।
त्यस बेलानै उनले एउटा फोटो बनाएको तीन रुपैयाँ लिन्थे। महँगो भए पनि राम्रो हुने भन्दै गाउँ-गाउँबाट फोटो खिचाउनको लागि उनले काम गरेको स्टुडियोमा मान्छेहरू आउँथे। उनको गुरुले चाइनाबाट फोटोग्राफी सिकेर आएका थिए। त्यहि भएर उनले पनि त्यो सबै सीप जान्न पाए।
‘छ्याके मान्छेलाई पनि राम्रो बनाउँथे अनि कम्जोरलाई बलियो, कालोलाई गोरो, सफा अनुहारको पो बनाउथे त! त्यहि पनि हातैले,’ उनी सुनाउँदै गए, ‘त्योबेला त फोटो घरमा सजाएर राख्ने चलन थियो नि! अनि राम्रो भन्दा राम्रो फोटो बनाउन भन्थे।’
दयालक्ष्मी हुँदा र नहुँदाको जीवन
उनी २०२२ सालमा काठमाडौं आउँदा उनले धरानमा जति धेरै स्टुडियो देखेनन्। दुवै खुट्टाको उपचार गरेर ठिक भएर जाँदासम्म उनी यहाँ सात महिना बसे अनि धरान फर्किएर कामलाई निरन्तरता दिए। पछि उनले उतै विवाह गरे। छोराछोरी जन्माए। आफ्नै स्टुडियो पनि खोले।
दाजुभाइ छुट्टिएपछि घरमा बस्ने माहोल भएन अनि उनी सधैँका लागि २०४१ सालमा काठमाडौं आए। उनको श्रीमती धरानकै भए पनि काठमाडौंमा धेरै आफन्त भएकाल सहज भयो।
विवाह हुँदा उनी २६ वर्षको थिए, अनि दयालक्ष्मी २५ की। प्रेम भइकन पनि उनीहरूले मागी विवाह गरे। सानैदेखि एकअर्कालाई देखिरहेका उनीहरूको दाइदिदी पनि साथी नै थिए।
उनको गोडाको शल्यक्रिया गर्न परिवारहरू मानिरहेका थिएनन्। तर, तत्काल अप्रेशन गर्न नसके, पछि खुट्टा काम नलाग्ने सोचेर जीतमानले खुट्टाको उपचारको बारेमा सोचे। त्यसबेला दयालक्ष्मीले उनलाई खुब साथ दिइन्।
‘तपाईं जानुस, सबै राम्रो हुन्छ। म तपाइँलाई पर्खेर बस्छु है भन्थिन् उनले,’ यति भन्दै गर्दा उनको आँखाबाट आँसु खस्यो। अहिले पनि पहिलोपटक सँगै खिचेका फोटो देखि जिन्दगीको ३७ वर्ष सँगै बिताएका अनेकौं त पलहरूको तस्बिरलाई उनले सङ्गालेर राखेका छन्।
आफ्नो विवाहको सबै खर्च उनले फोटोग्राफीबाटै बेहोरे। दाइको अगाडि नै विवाह भइसकेको थियो। परिवार थपिएपछि भइरहेको घरझगडा झन् बढ्यो।
‘बिहे गरेपछि मैले घर छोडेँ, भाडामा कोठा लिएर बसेँ। अहिलेसम्म भाडामै छु’, अँध्यारो मुख लगाएर उनले भने।
काठमाडौं आएपछि उनले न्यूरोडको एक फोटो स्टुडियोमा काम पाए। उनले १७ वर्षसम्म त्यहिँ काम गरे। त्यसबेला सम्म उनको श्रीमतीले पनि फोटो खिच्न जानिसकेकी थिइन्। जीतमान बाहिर फोटो खिच्न जाँदा दयालक्ष्मीले भने घरमै फोटो खिच्थिन्। उनीहरू काठमाडौं आएपछि कलर फोटो पनि आयो। त्यसपछि उनीहरूको स्टुडियो पनि निकै फस्टायो।
तर, ६० वर्ष हुँदै गर्दा दयालक्ष्मीको स्वास्थ्यमा समस्या आयो। कहिले के कहिले के बिरामी भइ नै राखिन्। एक दिन त हृदयघात नै भयो। त्यसपछि भने जीतमानको जिन्दगीले अर्कै मोड लियो। उनी एक्लो भए। तीन वटै छोरीहरू र एउटा छोराको विवाह पनि उनीहरूले गराइसकेका थिए। छोरीहरु त अरुको घर गइसकेका थिए। तर, छोराले पनि उनलाई छोडेर गए। अहिले उनी कालिमाटीको आफ्नो कोठामा एक्लै धुमधुम्ती बस्छन्।
भूकम्पपछि एक्लै स्टुडियो चलाउने आँट गर्न सकेनन् उनले। अहिले आफ्नो सानो कोठामै स्टुडियो बनाएका छन्। दुईवटा लाइट स्ट्याण्डसँगै केही दर्जन क्यामेरा र अनेकौं नेगेटिभ रिलहरू उनको साथी हुन्। अहिले उनको त्यो सानो स्टुडियोमा पहिलाको जस्तो लाइनका लाइन फोटो खिचाउनेहरू आउँदैनन्। तर, केहि भने खोजी-खोजी आउँदा रहेछन्। उनी त्यसमै खुसी मान्छन्। अहिले पनि फोटो खिची त्यसलाई रिटच गरेर दिने गर्छन् उनी।
अहिले क्यामरामा धेरै विविधता आइसक्यो। तर, उनले डिजिटल क्यामरा किन्न सकेका छैनन्। अहिले पनि वर्षौं पुरानो आफ्नो क्यामेराले नै फोटो खिच्छन्।
‘कति खुसी थियौँ हामी। तर, दयालक्ष्मी गएपछि सबै कुरा बिग्रियो। मैले आफूलाई सम्हाल्नै सकिन। अहिले साच्चिकै एक्लो छु। तर, हाम्रो याद धेरै छन्। सकेसम्म ऊ मसँगै छ भनेर फोटो हेरेर खुसी हुन्छु। छोराले छोडेर गएको भन्दा पनि दयालक्ष्मी यहाँ छैन भनेर सम्झिँदा अहिले पनि भक्कानिन्छु’, उनको आँखामा आँसु टिलपिलाए।
छोरीहरूले आफैसँग बस्न भनिरहन्छन्, तर छोरीकोमा गएर बस्न उनको मन मान्दैन। अब एक पटक आँखाको अप्रेशन भएपछि उनी फेरि फोटोग्राफीमा फरक रूपमा काम गर्न चाहिरहेका छन्।
वैशाख १०, २०८१ सोमबार १४:३०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।