'बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिए, मैले चुनाव लड्नुहोस् भन्दा लड्नुभएन'

'बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिए, मैले चुनाव लड्नुहोस् भन्दा लड्नुभएन'

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकतामा भाँजो हालेर नेपाली जनतालाई धोका दिने काम गरेको आरोप लगाएका छन्। 

शनिबार काठमाडौंमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा यादवसहितको समूह माओवादी केन्द्रसँग पार्टी एकताका लागि तयार भइसकेको बेला भट्टराईले एकीकरणको विपक्षमा अभिव्यक्ति दिएको उनको भनाइ छ। 

भट्टराईको नजिकका तीन जनाले उनको साथ छोड्नु नै नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको दाबी यादवले गरे। 

‘मैले डा. साहेबलाई भनेको थिएँ डा. साहेब तपाई चुनाव लड्नुहोस्। म चुनाव लड्छु दुई वटा सिट हुन्छ। जितिन्छ र पार्टीलाई बनाउन सकिन्छ। उहाँले मान्नुभएन। उहाँको भनाइ थियो– अब हामीले पार्टी चलाउन सक्दैनौँ। पार्टी चल्नै सक्दैन,’ यादवले भने, ‘हामीले विभिन्न अवरोध पार गर्दै यहाँसम्म आयौँ, अब यो देशको राष्ट्रवादी शक्तिहरूलाई जोड्नुपर्छ। देशभक्त पार्टीसँग  एकता गर्ने आधारमा जाऔँ। उहाँले जे जे भनेपनि मलाई आलोचना गर्नु छैन।’

उनले हालैको संसदीय निर्वाचनमा पनि भट्टराईले सल्लाह नमानेको दुखेसो गरे।

‘एउटा कुरा भन्छु, गंगाजीले ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो? दुर्गा भट्टराई, विश्वदीप पाण्डे उहाँको पारिवारिक सदस्य तीन जनाले उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ। मैले भने तपाई चुनाव लड्नुहोस्, किन लड्नुभएन?’

संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति माओवादी केन्द्र नै रहेको यादवले बताए। १० प्रदेशमा सहमतिको अधुरो काम पुरा गर्न माओवादीसँग एकता आवश्यक रहेको उनको भनाइ छ। 
 
‘नेपाल समाजवादी पार्टीको सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा माओवादी नै छ,’ उनले भने। 

माओवादी आन्दोलनको बलमा नै मुलुकमा गणतन्त्र सम्भव भएको उनले बताए। 

८ बैशाख, २०८१, २१:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।