मिर्गौला विशेषज्ञ डा. अमृतको उपचार अनुभव : डाइलासिस गरेको केही घण्टामै १६ वर्षे युवाको मृत्यु भएपछि...
उपचारकोक्रमका तितामिठा अनुभवको कुराकानी सुरु गर्दा मिर्गौला रोग विशेषज्ञ डा. अमृत केसीले तीन वर्ष अघिको घटना सम्झिए। १६ वर्षकै उमेरमा मिर्गौलाको समस्या भएका युवाको उपचार अनुभव सुनाए उनले।
ती युवा दुई वर्षदेखि निरन्तर डा. अमृतको टिमसँग उपचार गराइरहेका थिए। उनको अवस्था डाइलासिस गर्नुपर्ने थियो। त्यसैले डा. अमृतको टिमले युवालाई डाइलासिसका लागि अस्पताल भर्ना गर्यो।
सामान्य प्रक्रिया अनुसार नै पहिलो डाइलासिस भयो। त्यो सफल पनि भयो। कुनै समस्या आएन। डाइलासिसपछि ती युवाको अवस्था सामान्य नै थियो। उनी हाँसिखुसी नै हिँडेरै अस्पतालको वार्डको बेडमा गएका थिए।
तर, डाइलासिस गरेको केही घण्टामा एक्कासि उनको स्वास्थ्यमा जटिलता निम्तियो। उनलाई सास फेर्न समस्या हुन थाल्यो।
स्वास्थ्यकर्मीले राती नौ बजेतिर डा. अमृतलाई फोन गरेर भने,‘डाक्टरसाप अघि डाइलासिस गरेको बिरामीलाई त सास फेर्न गाह्रो भयो। क्रिटिकल अवस्था छ, तुरुन्त आउनुपर्यो।’
करिब १५ मिनेटमै डा. अमृत अस्पताल पुगे। उनी अस्पताल पुगेर ती युवाको स्वास्थ्य अवस्था हेर्दा मुटुको धड्कन नै बन्द भइसकेको थियो। चिकित्सकको टिमले बचाउन हर सम्भव प्रयास गर्यो। तर प्रयास सफल भएन।
डा. अमृतको मन कटक्क भयो। उनले युवाको मृत्युको कारण खोज्ने प्रयास गरे। सायद खाना खाँदा श्वास नलिमा खाना गयो कि भन्ने लाग्यो। तर एकिन कारण खुलेन।
युवाको मृत्युपछि मृतकका परिवार तथा आफन्तले चिकित्सकको टिमलाई दोष लगाए। बिरामीलाई बचाउन हर सम्भव कोसिस गरेकै हो। सबै कुरा चिकित्सकको हातमा हुने भए यहाँ कोही कसैको किन ज्यान जान्थ्यो र! दोष लाग्दा नरमाइलो लाग्ने नै भयो।
चिकित्सकको कामै बिरामी हेर्ने हो अनि उनीहरूलाई कसैको मृत्युले के छुन्छ र भन्ने लाग्न पनि सक्छ। तर चिकित्सक पनि मान्छे नै हो। उसको पनि भावना हुन्छ। डा अमृतको अनुभवमा बिरामीको मृत्यु भएमा भुल्न निक्कै समय लाग्छ रे बिर्सन।
उपचारकोक्रममा कसैको मृत्यु भयो भने के कारण उपचार सफल भएन भनेर टिममा बसेर छलफल गर्ने गरेको उनले सुनाए।
उपचारको प्रक्रियाकाक्रममा मिर्गौला पीडित बिरामीसँग मिर्गौला रोग विशेषज्ञको पारिवारिक सम्बन्ध हुने डा. अमृतले सुनाए।
डाइलाईसिस गर्नुपर्ने बिरामीसँग त हप्तामा दुई पटक भेट हुन्छ उनको। त्यसैले मिर्गौलाको समस्या भएका बिरामी र मिर्गौला रोग विशेषज्ञ चिकित्सकबीच घनिष्ठ सम्बन्ध हुने उनको अनुभव छ।
मृत्युको मुखमा पुगेका बाजेलाई बचाउँदा
चिकित्सकको सबै अनुभव दुखद मात्र हुन्न, सुखद पनि हुन्छ। यस्तै एक सुखद अनुभव सुनाए उनले। मिर्गौलाले काम नगरेका करिब ६० वर्षका बाजे उनकोमा उपचारका लागि आइपुगे। उनले डाइलाईसिस गर्न सुझाव दिए। तर उनले डाइलासिस गर्न मानेनन्। दुई महिनापछि उनको स्वास्थ्य जटिल अवस्थामा पुग्यो। उनी सिकिस्त भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि परिवारले ल्यायो।
राती नै डा. अमृतलाई अस्पतालका स्वास्थ्यकर्मीले खबर गरे। उनी हतारहतार दुई बजे अस्पतालको आकस्मिक कक्षमा पुगे।
बिरामीको स्वास्थ्य अवस्था हेरे। स्वास्थ्य परीक्षण गरे। ती बिरामीको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो। शरीरका अङ्ग काम नगर्ने अवस्थामा पुगिसकेका थिए।
उनले तत्काल भर्ना गराएर डाइलाईसिस सुरु गराए। उनलाई भेन्टिलेटरमा नै राख्नुपर्यो। डाइलाईसिस सुरु भएपछि बिस्तारै तङ्ग्रिन थाले। करिब एक हप्ताको उपचारपछि उनको स्वास्थ्य तंग्रियो। उनी हिँडेरै घर जान सक्ने भए।
मृत्युको मुखमा पुगिसकेका ती ६० वर्षे बाजेलाई बचाएको क्षण सम्झँदा उनलाई आनन्द लाग्छ। चिकित्सक पेशाको सबैभन्दा आनन्ददायी क्षण नै कसैको ज्यान बचाउन सक्नु रहेको उनको अनुभव छ।
आठ वर्षीय बालिकाको डाइलासिसको पिडा
मिर्गौलाको समस्या उमेर पुगेपछि मात्र सुरु हुन्छ भन्ने धेरैमा भ्रम छ। तर यसको निश्चित उमेर हुन्न। कलिलै उमेरमा पनि हुनसक्छ। त्यसैले जुनसुकै उमेर समूहकाले पनि बेलाबखत मिर्गौला परीक्षण गर्नु उत्तम हुन्छ।
उनले तेस्रो अनुभव करिब आठ वर्षकी बालिकाको उपचारबारे सुनाए। आठ वर्षकी ती बालिकाको जन्मजातै मूत्र नलिमा समस्या भएको रहेछ, जसलेगर्दा उनको मिर्गौलामा समस्या आइसकेको थियो।
दुई वर्ष अघिबाट ती बालिकाको मिर्गौलाले काम गर्न छाडेको रहेछ। उपचारको उपाय डाइलाईसिस नै थियो।
उमेरले कलिलै भएकाले मिर्गौला प्रत्यारोपणका लागि अझै केही वर्ष कुर्नुपर्ने भयो। नेपालमा सामान्यतया करिब १४ वर्षको उमेर कटेपछि मात्रै मिर्गौला प्रत्यारोपण गरिने उनले सुनाए। प्रत्यारोपणका लागि वयस्क व्यक्तिको मिर्गौला लिनुपर्ने भएकाले बालबालिकाको पेटमा वयस्क व्यक्तिको मिर्गौला नअट्ने लगायतको समस्याका कारण कलिलो उमेरमा मिर्गौला प्रत्यारोपण गर्न कठिन हुने उनले सुनाए।
उपचारको क्रममा सुई लगाउँदा होस् वा रगत निकाल्दा सुईले खोप्दा ती बालिकाले त्यो दुखाई सहेको देख्दा डा. अमृत आफैँलाई दुखेको महसुस हुने रहेछ।
पढ्ने, लेख्ने अनि खेल्दै रमाएर हुर्कने उमेरमा उनी उपचारका लागि अस्पताल आइरहन परेको थियो। उनी अहिले पनि हप्तामा दुई पटक डाइलाईसिस गर्न अस्पताल आइरहन्छिन्।
रगत चुहिनेलगायत विभिन्न कारणले बालबालिकाको मिर्गौलामा समस्या निम्तन सक्ने डा. अमृतले बताए। त्यसैले कुनै पनि पिसाबजन्य समस्या देखिए तुरुन्तै स्वास्थ्य परीक्षण तथा उपचार गराउन उनको सुझाव छ।
धन्न मिर्गौला प्रत्यारोपण सफल भयो
मिर्गौला रोगको समस्या भएका व्यक्तिको औषधी उपचार र मिर्गौला प्रत्यारोपण पछि पनि कुनै समस्या ननिम्तेला भन्न सकिँदैन।
उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना करिब ३३ वर्षकी महिलाको मिर्गौला प्रत्यारोपणपछिको यस्तै जटिलताबारे उपचार गरेको अनुभव सुनाए।
करिब ६ महिना अघिको प्रसङ्ग रहेछ यो। करिब ३३ वर्षकी महिलाको मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गर्नुपर्ने भयो। उनको आमा मिर्गौला दिन तयार भइन्। सबै प्रक्रिया र तयारीपछि महिलामा आमाले दिएको मिर्गौला प्रत्यारोपण राम्रैसँग भयो।
मिर्गौला प्रत्यारोपणपछि जति मात्रामा पिसाब हुनुपर्ने हो त्यति भएन। आवश्यक मात्रामा पिसाब नभएपछि चिकित्सकको टिम तनावमा आयो। प्रत्यारोपण नै असफल पो हुने हो की भन्ने पिर भयो।
चिकित्सकको टिम समस्या समाधानका लागि खटियो। औषधि उपचार सुरु गर्यो। धन्न दोस्रो दिनबाट भने बिस्तारै पिसाबको मात्रा बढ्न थाल्यो।
मिर्गौला प्रत्यारोपण सफल भयो। बिरामीको स्वास्थ्य अवस्था सामान्यतर्फ फर्किँदै गयो। केही दिनको अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरिएकी महिला डिस्चार्ज भइन्।
जन्म स्याङ्जा, डाक्टरी रहर
अमृत २०४१ मा स्याङ्जाको बिरुवामा जन्मिएका हुन्। उनले स्थानीय नवज्योति माविबाट २०५६ मा एसएलसी पार गरे। त्यसपछि उनले कास्कीको पोखरास्थित श्री अमर सिंह उच्च माविबाट प्लस टु उत्तीर्ण गरे।
अमृतलाई डाक्टर बन्ने खुब रहर थियो। त्यसैले प्लस टु अध्ययनपछि अमृत एमबीबीए अध्ययनका लागी जनकपुर पुगे। जनकपुरको जानकी मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि सन् २००४ मा भर्ना भएका उनले सन् २०१० मा एमबिबिएस अध्ययन पूरा गरे।
एमबिबिएस अध्ययनपछि डा. अमृत कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मेडिकल अधिकृत तहमा रहेर काम सुरु गर्न थाले। उनले पोखरामा एक वर्ष काम गरेपछि काठमाडौँ आएर अल्का अस्पतालमा काम गर्न थाले।
छनोटमा मिर्गौला उपचार
विशेषगरी गण्डकी मेडिकल कलेजमा काम गर्दा मिर्गौला रोग विशेषज्ञको अभावमा बिरामीले पाएको दुःख उनले नजिकबाट देखेका थिए।
मेडिकल अधिकृतका रूपमा काम गर्दा मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको वार्डमा उनले काम गरे। मिर्गौला रोगको समस्या भएका बिरामीको डाइलासिसमा पनि उनी खटिन्थे।
अस्पतालमा काम गर्दा मिर्गौलाको समस्या भएका बिरामीले दुःख देख्दा उनलाई मिर्गौला रोगकै विषयमा थप अध्ययन गर्ने सोच आयो।
अन्ततः डा. अमृत मिर्गौला रोग सम्बन्धी विषय नै अध्ययन गर्ने निष्कर्षमा पुगे। उनले बङ्गलादेशको बगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीमा स्नातकोत्तर तहमा मिर्गौला रोग (नेफ्रोलोजी) विषय अध्ययनका लागि सन् २०१२ मा भर्ना भए। त्यहाँ दुई वर्ष इन्टरनल मेडिसिन विषय अध्ययन गरेपछि तीन वर्ष नेफ्रोलोजी विषय पढ्न पाइन्थ्यो। त्यसैले डा. अमृतले छात्रवृत्ति कोटामा नेफ्रोलोजी (मिर्गौला रोग) विषयमा पाँच वर्षे एमडी गरेर सन् २०१७ मा नेपाल फर्किए।
पोखरामा काम
मिर्गौला रोगसम्बन्धी अध्ययन गरेर नेपाल फर्केपछि डा. अमृतलाई पोखरामा नै बसेर काम गर्ने इच्छा थियो। किनकि पोखरामा त्यसअघि उनले काम गर्दा मिर्गौला रोग विशेषज्ञको अभावमा बिरामीले दुःख पाएको नजिकबाट देखेका थिए।
उनी मिर्गौला रोग विषय अध्ययन गरेर फर्कँदा पोखरमा मिर्गौला रोग विशेषज्ञ कमै थिए। त्यसैले काठमाडौँको भीडमा मिसिनु भन्दा पोखरा उनको छनोटमा पर्यो।
त्यो बेलामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला रोग विशेषज्ञको अभाव थियो। त्यसैले मिर्गौला रोग विषय अध्ययन गरेर फर्केपछि डा. अमृतले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करारमा काम सुरु गरे। त्यहाँ उनले करिब तीन वर्ष करारमा काम गरे।
डा. अमृत दुई वर्ष अघि लोकसेवा परीक्षामार्फत नवौँ तहको कन्सल्टेन्ट नेफ्रोलोजिष्टका रूपमा स्थायी सरकारी चिकित्सक भए। उनको पोस्टिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै भयो। हाल उनी स्वत्त बढुवा प्रक्रिया अन्तर्गत बढुवा भएर दशौं तहमा पुगेका छन्। प्रतिष्ठानमा उनी सह–प्राध्यापक (एशोशिएट प्रोफेसर)को भूमिकामा समेत छन्।
उनी अहिले बिरामीको औषधी उपचारमा मात्र हैन चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु र चिकित्सा सम्बन्धी विषयको अध्ययन तथा अनुसन्धानमा समेत संलग्न छन्। प्रतिष्ठानमा हाल दुई जना मिर्गौला रोग विशेषज्ञ छन्।
मिर्गौलाको उपचारमा सक्रिय
मिर्गौलासँग सम्बन्धित समस्या भएका बिरामीको औषधि उपचार गर्नु, मिर्गौलाले काम नगरेका बिरामीको डाइलाइसिसको प्रक्रिया अगाडि बढाउनु लगायत डा. अमृतको काम हो।
डाइलासिस गर्नुपर्ने बिरामीका लागि डाइलासिस क्याथेटर हाल्ने, डाइलाईसिस गर्ने बाटो (फिस्टुला)मा कुनै समस्या निम्तिए समाधान गर्ने, डाइलासिसमा कुनै समस्या निम्तिए त्यसको समाधानको प्रयास गर्ने उनका काम हुन्।
त्यसैगरी मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीका लागि बिरामीको स्वास्थ्य परीक्षण लगायतको काम गरी प्रत्यारोपणका लागि व्यवस्थापन गरिदिने काम पनि नेफ्रोलोजिष्टका रूपमा डा. अमृतले गर्ने गरेका छन्।
मिर्गौला प्रत्यारोपणको तयारीदेखि व्यवस्थापन र मिर्गौला प्रत्यारोपण गर्ने शल्य चिकित्सक (युरोलोजिष्ट)सँगको समन्वय लगायत उनको दैनिकी हो।
मिर्गौला प्रत्यारोपण बाहेक बिरामीको औषधी उपचार लगायत करिब सबै व्यवस्थापन लगायतको काम नेफ्रोलोजिष्टले गर्नुपर्ने हुन्छ। बिरामीलाई मिर्गौला प्रत्यारोपण गरिसकेपछि समेत कुनै स्वास्थ्य जटिलता निम्ने जोखिम हुन्छ। त्यस्तो अवस्थामा तुरुन्तै ख्याल गर्नुपर्ने हुन्छ।
बिरामीको उपचारको सिलसिलामा कुनै समस्या निम्तिए त्यसको औषधी उपचार गर्नु त उनको काम हुने नै भयो। बिरामीलाई भर्ना गर्नेदेखि उपचार व्यवस्थापन अनि बिरामीलाई अस्पतालमा फलोअपमा आउनुपर्ने विषयको निर्क्योल गर्ने लगायतको काम गर्नु उनको दैनिकी हो। उनी आफूले चाहेको पेशा अनि रोजेको विषयमा काम गर्न पाउँदा खुसी छन्।
वैशाख ८, २०८१ शनिबार १८:५४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।