चुनावमुखी विश्वप्रकाशको यू-टर्न : ४० मिनेटको भाषणमा 'कोशी' शब्दै प्रयोग गरेनन्, प्रदेश नामकरणअघि चुइँक्क बोलेनन्

चुनावमुखी विश्वप्रकाशको यू-टर्न : ४० मिनेटको भाषणमा 'कोशी' शब्दै प्रयोग गरेनन्, प्रदेश नामकरणअघि चुइँक्क बोलेनन्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामेली मतदातालाई आफ्नो पार्टीले पहिचानको मुद्दामा पूर्ण रूपमा सहयोग प्रतिबद्धता व्यक्त गरेका छन्। 

शर्माले शनिबार इलाममा आयोजित चुनावी सभालाई ४० मिनेट सम्बोधन गरे। तर, एकपटक पनि नामाकरण भइसकेको कोशी प्रदेशलाई 'कोशी' सम्बोधन गरेनन्। उल्टै 'एक नम्बर प्रदेश' भन्दै सम्बोधन गरिरहे। 

कोशी प्रदेशसभाले ०८९ सालको फागुन १७ गते प्रदेशलाई कोशी नामाकरण गरेको हो। अघिल्लो कार्यकालमा समेत नामाङ्कन हुन नसकेको कोशीमा पहिचानवादी पक्षधरसँगको डरले पनि ठूला दलहरूले त्यसअघिसम्म मौनता साधिरहेका थिए। 

झापाबाट प्रतिनिधित्व गर्ने कांग्रेसका युवा नेता शर्माले पनि तत्कालीन एक नम्बर प्रदेशको नामकरणको विषयमा सार्वजनिक अभिव्यक्ति दिएको पाइएन। उनले कोशी नामकरणपछि पनि समर्थन वा असमर्थन कुनै खालका टिप्पणी गरेनन्। 

कोशी नामकरणमा कांग्रेसले पनि हस्ताक्षर गरेको थियो।  

प्रदेश सरकारको नेतृत्व गरेको एमालेले ल्याएको कोशी प्रदेश नामकरणको प्रस्ताव प्रदेशसभाको एमाले, कांग्रेस र राप्रपासँगै माओवादी केन्द्रले पनि कोशी प्रदेश नामकरणको प्रस्तावलाई समर्थन गर्दै मतदान गरी दुईतिहाइ बहुमतले पारित भएको थियो। तर, उही कांग्रेसका महामन्त्रीका रूपमा समेत विश्वप्रकाशको मौनता अर्थपूर्ण रह्यो।  

तर, आज चुनावी सम्बोधनमा भने उनले आफूले पहिचानवादीका मुद्दा बोकेकाहरूको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको बताए।

उनले भने, ‘गुरुले मलाई पहिचानको मुद्दामा केही बोल्नुस् भनिसकेपछि मैले १४ वटै कोशी प्रदेशभरका सभापतिहरूलाई यहीँ बैठक बोलाएर एक नम्बर प्रदेशको नामावली सम्बन्धी पुनर्विचार गरियोस् र नेपाली काँग्रेसले पहिचानवादी मुद्दा बोकेका साथीहरूको पनि सम्बोधन गरोस्, भनेर प्रेस विज्ञप्ति काठमाडौँमा लगेर लिखित दिएको छु। पहिचानवादीको मुद्दामा पनि नेपाली काँग्रेसले पूर्ण रूपमा सहयोग गर्नेछ।’

इलाम २ मा पहिचानवादीको तर्फबाट उमेद्वार बनेका डेकेन्द्रसि थेगिमतर्फ संकेत गर्दै नाम नलिएरै उनले कोही एकजना पात्रले चाहेर मात्र पहिचानको मुद्दा सम्बोधन गर्न नसकिने बताए।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली माथि आक्रमण भएको सन्दर्भ स्मरण गर्दै उनले सबै मिलेर पहिचानको मुद्दालाई सम्बोधन गरिनुपर्ने बताए। 

उनले निर्वाचनअघिको गठबन्धन गलत हुने बताए। 

निर्वाचनअघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेसले अहिले एक्लै चुनावमा भाग लिइरहेको भन्दै उनले इलामले अब परिवर्तन खोजेको पनि बताए। 

८ बैशाख, २०८१, १८:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।