पाकिस्तानको साथमा साउदी : गत वर्ष २ अर्ब डलर ऋण सहयोग, अहिले सुन र तामा खानीमा ८ करोड लगानी

पाकिस्तानको साथमा साउदी : गत वर्ष २ अर्ब डलर ऋण सहयोग, अहिले सुन र तामा खानीमा ८ करोड लगानी

एजेन्सी : आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम लगानी गर्ने भएको छ। 

पाकिस्तानको तामा र सुन खानी सम्बन्धी परियोजनामा साउदी अरबले ८.३४ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको हो। 

साउदीका विदेशमन्त्री फैसल बिन फरहानको २ दिने पाकिस्तान भ्रमणका क्रममा लगानी सम्बन्धी सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले साउदीका सहायक रक्षा मन्त्री मेजर जनरल अब्दुल्लाह अल–ओतैबीसँग पनि भेट गरेका थिए। यस क्रममा दुई देशबीच रक्षा उत्पादन र सैन्य तालिमका विषयमा पनि छलफल भएको छ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ इद उल फित्रको अवसरमा साउदी अरब गएका थिए। उनलाई युवराज मोहम्मद बिन सलमानले इफ्तार पार्टीमा निम्तो दिएका थिए। 

आर्थिक संकट र राजनीतिक उथलपुथलमा साउदी सधैं पाकिस्तानको साथमा रहेको छ। गत वर्ष जुलाईमा साउदीले पाकिस्तानलाई २ अर्ब डलर ऋण दिएको थियो। सन् २०२० सम्म पाकिस्तानलाई ऋण दिने देशहरूमा साउदी पहिलो नम्बरमा थियो।

बीबीसीका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो कार्यकालमा ३२ वटा विदेश भ्रमण गरेका थिए। जसमध्ये ८ विदेश भ्रमण साउदी अरेबियाको थियो। 

सन् २०२१ मा इमरान सरकारको पतनपछि प्रधानमन्त्री बनेका शाहबाज सरिफ पनि आफ्नो पहिलो विदेश भ्रमणमा साउदी नै पुगेका थिए।

पाकिस्तानी प्रधानमन्त्रीहरूले आफ्नो पहिलो विदेश भ्रमणमा साउदी अरब जाने कुरा सामान्य हो। यसको मुख्य कारण पाकिस्तानले साउदीबाट पाउने सहयोग नै हो। साउदी अरब तेलमा आफ्नो अर्थव्यवस्थाको निर्भरता घटाउन चाहन्छ। 

यस्तो अवस्थामा साउदीले व्यापारका लागि नयाँ साझेदार खोजिरहेको छ। त्यसमध्ये भारत पनि एक हो। तर, उसले पाकिस्तानको पनि चित्त दुखाउन सक्दैनन्। यसको प्रमुख कारण इरान हो। 

१९७९ मा ईस्लामिक क्रान्ति पछि शिया धार्मिक नेताहरू इरानमा सत्तामा आए। इरान शिया बाहुल्य देश भएकाले साउदी अरेबिया यस क्रान्तिबाट निकै डराएको थियो। 

यसको प्रतिकार गर्न साउदी अरेबियाले पाकिस्तान र भारतलगायत सुन्नी मुस्लिम देशहरूलाई पैसा पठाउन थाल्यो। यसले विश्वभरका देशहरूमा वहाबी इस्लामलाई बलियो बनायो र सम्पूर्ण क्षेत्रमा सुफी इस्लामको उपस्थितिलाई कम गर्न सफल भयो।

वर्षोंदेखि इरान र साउदीबीच मध्यपूर्वमा प्रभुत्वको लागि लडाइँ भइरहेको छ। यसका लागि साउदी पाकिस्तानलाई आफ्नो क्याम्पमा राख्न चाहन्छ।

साउदीले पाकिस्तानलाई आर्थिक सहयोग गरेर रणनीतिक रूपमा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ। वास्तवमा पाकिस्तानसँग इरानको सीमा ९०९ किलोमिटर छ।

पाकिस्तानबाट निष्कासन गरिएका पत्रकार तहा सिद्दिकीका अनुसार साउदीले आर्थिक प्याकेज र लगानीमार्फत पाकिस्तानी सरकारको वफादारी किनिरहेको छ। पाकिस्तानको सीमामा साउदीले आफ्नै नीति बनाएको छ।

साउदी अरबमा मक्का र मदिनाको उपस्थितिको कारण यो ईस्लामिक संसारको लागि धेरै महत्वपूर्ण छ। त्यसैले साउदी अरेबियाले प्यालेस्टाइनलाई इजरायलको हिस्साको रूपमा स्वीकार गरेको छैन।

साउदी अरबका लागि सरकारभन्दा पाकिस्तानको सेना महत्वपूर्ण छ। यसको कारण पाकिस्तानी सेना विश्वको २० औं शक्तिशाली सेना हो।

हाल साउदीमा करिब ७० हजार पाकिस्तानी सैनिक छन्।

२०१८  मा प्रधानमन्त्री हुँदा इमरान खानले ‘साउदी अरबमा मक्का र मदिना छ। यस्तो अवस्थामा त्यहाँ कुनै खतरा आयो भने पाकिस्तानी सेनाले मात्र नभई यहाँका जनताले पनि साउदी अरबको रक्षा गर्नेछन्।’ भनेका थिए।

८ बैशाख, २०८१, १७:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।