'रास्वपा पपुलिष्ट अनि कांग्रेस परम्परावादी दक्षिणपन्थी, जसले समस्यालाई उजागर गर्छन् तर समाधान छैन'

'रास्वपा पपुलिष्ट अनि कांग्रेस परम्परावादी दक्षिणपन्थी, जसले समस्यालाई उजागर गर्छन् तर समाधान छैन'

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली कांग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रूपमा व्याख्या गरेका छन्। 

शनिबार ललितपुरको गोदावरीमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले रास्वपालाई प्रियतावादी शक्तिको रूपमा र कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको बताएका हुन्। 

उनले भने, ‘निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेका छन्। यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा सङ्कट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ। यस स्थितिले सृजना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ। उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन्। तर उनीहरूसँग यसको समाधान भने छैन।’

संविधानका मूल विषयमा अस्पष्ट र असहमत रहनेहरूको संख्या निर्वाचनपछि प्रतिनिधि सभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको उनको निष्कर्ष छ।

उनले थपे, ‘निर्वाचन परिणामले सृजना गरेको प्रतिकूलताको मूल्य आज राष्ट्रले नै चुकाउनु परिरहेको छ। निर्वाचनपछि निर्माण भएको शक्ति सन्तुलन राष्ट्र र जनताको हितमा अनुकूल बन्न सकेन। मुलुकलाई राजनीतिक स्थिरता आवश्यक थियो। तर प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानका मुख्य विषय अस्पष्ट र असहमत रहनेहरूको उल्लेख्य सङ्ख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो।’

लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि खालको निरंकुशता हुनै नसक्ने उनको भनाइ छ।  

८ बैशाख, २०८१, १६:०५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।