भित्तेपात्रो विमोचन गर्न पुग्ने क्या फुर्सदिला उपप्रधानमन्त्री !

भित्तेपात्रो विमोचन गर्न पुग्ने क्या फुर्सदिला उपप्रधानमन्त्री !

काठमाडौं : हाम्रा उच्चपदस्थ व्यक्ति कतिसम्मका फुर्सदिला छन् भन्ने ज्वलन्त उदाहरण आजकल हप्ता–हप्तामा देख्न पाइन्छ।

विद्यालय वा सामुदायिक भवनको शिलान्यास र उद्घाटनका लागि राष्ट्रपति पुग्ने गरेका छन् भने जन्मदिनको केक समेत मन्त्रीले नै गएर काटिदिएका छन्।

अब त हुँदा-हुँदै भित्तेपात्रो विमोचनमा समेत देशका उच्चपदस्थहरू पुग्ने थालेका छन्। शनिबार यस्तै भयो।

गोरखा पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भित्तेपात्रो विमोचन गर्न बोलाइयो। श्रेष्ठले पनि ‘नाइ’ भन्न सकेनन् र लाज पचाएरै गए अनि विमोचन गरेर फर्किए।

हुन त शिलान्यास, उद्घाटन अनि विमोचनको मोह नेपाली नेताहरूमा नौलो हैन।

कार्यक्रममा उनले जनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने भाषण समेत दिन भ्याए।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दीगो शान्ति कायम हुन नसक्ने दाबी गरे।

पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए।

८ बैशाख, २०८१, १४:१४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।