सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन अभिभावकको ताँती, दबाब थेग्न नसकेर प्राचार्यको ‘मोबाइल अफ’

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन अभिभावकको ताँती, दबाब थेग्न नसकेर प्राचार्यको ‘मोबाइल अफ’

बुटवल : नयाँ शैक्षिक सत्र शुरू भएसँगै भर्ना अभियान सुरु भएकाे छ। सरकार आफैँले वैशाखको पहिलो हप्तालाई भर्ना अभियानको रूपमा मनाएर बालबालिकालाई विद्यालयसम्म आकर्षण गरिरहेको छ।

देशभर भर्ना अभियान चलिरहँदा हिमाली र पहाडी क्षेत्रका साथसाथै तराईका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या भने घट्दै गइरहेका छन्। कतिपय ग्रामीण इलाकामा त विद्यार्थी नै नभएर विद्यालयहरू मर्ज गर्ने अवस्थामा पुगिसक्यो।

तर, देशमा केही यस्ता सामुदायिक विद्यालय पनि छन् जहाँ आफ्ना छोराछोरीहरूको भर्ना पाउन अभिभावकलाई मुस्किल पर्ने गरेको छ। उत्कृष्ट नतिजा ल्याएर अब्बल सावित भएका बुटवलका केही सामुदायिक विद्यालयहरूमा भर्ना पाउन मुस्किल परेको अभिभावकहरूको गुनासो छ।

संस्थागत विद्यालयको महंगो शुल्कको मारमा परेका अभिभावक उत्कृष्ट नजिता ल्याएका सामुदायिक विद्यालयमा छोराछोरी पढाउन लालहित छन्। तर, सीमित ‘कोटा’ मात्र विद्यालयले छुट्टाउँदा भर्ना पाउनु मुस्किल बनेको हो।

विद्यालयले निश्चित कोटामा विद्यार्थीलाई भर्ना गराउन आव्हान गरेको ‘स्तर मापन परीक्षा’मा हजारौं विद्यार्थीले सहभागिता जनाएपनि सबैलाई भर्ना गर्न विद्यालयले सकेका छैनन्।

देशकै सबैभन्दा बढी विद्यार्थी रहेको बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा सिधै भर्ना पाउन कसैको ‘भनसुन’ चल्दैन। विद्यार्थीलाई भर्ना गराउन आएको दवाव थेग्न नसकेपछि विद्यालयका प्राचार्य दिनेश थापा केही दिनदेखि मोबाइल नै नलाग्ने बनाएर राखेका छन्।

यस वर्ष विद्यालयले कक्षा ४, ५, ६ र कक्षा ९ तर्फ कम्प्युटर इन्जिनियर तर्फ नयाँ भर्ना गर्दैछ। विद्यालयले यस वर्ष कक्षा ४ मा ८० जना, कक्षा ५ मा ४० जना, कक्षा ६ मा १६० र कक्षा ९ मा ४८ जनालाई भर्ना गराउनेछ। कुल ३२८ नयाँ विद्यार्थीहरु भर्ना गर्ने भए पनि विद्यालयले लिन लागेको ‘स्तर मापन परीक्षा’मा करिव २ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन्।

‘शनिबार परीक्षा भएपछि हामीले प्राप्त नतिजाका आधारमा छुट्याइएको कोटामा मात्र विद्यार्थी भर्ना लिनेछौँ। अरू विद्यार्थीलाई भर्ना लिन सकिँदैन’, विद्यालयका प्राचार्य थापाले भने। कालिका मानवज्ञान विद्यालयमा गत वर्ष ३ हजारले प्रवेश परीक्षामा दिएकोमा ४ सय जनाले नयाँ भर्ना पाएका थिए।

विद्यार्थीहरू सामुदायिक विद्यालयमा आर्कषण हुनु राम्रो भए पनि आफूहरूको स्रोत साधन र भौतिक पूर्वाधार लगायतको अवस्था हेरेर सबैलाई भर्ना लिन नसकिएको प्राचार्य थापाले बताए। अंग्रेजी माध्यममा अध्यापन हुने यो विद्यालयमा हाल ८ हजार ८९ विद्यार्थी छन्।

सेक्टर ‘ए’ र सेक्टर ‘बी’ गरेर दुई स्थानमा विद्यालय सञ्चालनमा छ। न्यून दरबन्दी रहेको विद्यालयमा १५० भन्दा बढी अस्थायी शिक्षक छन्। राज्यले निःशुल्क शिक्षा भने पनि विद्यालयले अभिभावकबाट सहयोग शुल्क उठाउने गरेको छ। त्यसबाहेक केही रकम विद्यालयले सटर भाडा मार्फत आम्दानी गर्ने गर्दछ।

सरकारी विद्यालयमा राम्रो पढाइ हुँदैन भन्ने आम मानसिकतालाई बुटवलका कालिका मानवज्ञान माध्यमिक विद्यालय जस्ता विद्यालयले तोडेका छन्। योसँगै बुटवलका अन्य चार सामुदायिक विद्यालयमा पनि विद्यार्थी भर्ना गर्नेको चाप छ।

कान्ती माध्यमिक विद्यालयमा पनि धेरै अभिभावकहरूले आफ्ना छोराछोरी भर्ना गराउन चाहे पनि सहजै भर्ना गराउन पाउँदैनन्। त्यहाँ पनि विद्यालयले प्रवेश परीक्षा गराएर विद्यार्थीहरूलाई भर्ना लिने गरेको छ। गत वर्ष मात्र यो विद्यालयमा भर्ना हुन भनेर आएका १ हजार विद्यार्थी भर्ना हुन नपाएर फर्केका थिए।

विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार यस वर्ष विद्यालयले कक्षा ४ देखि ९ सम्म नयाँ भर्नाका लागि ४ सय विद्यार्थीहरू लिन सक्ने क्षमता भए पनि प्रवेश परीक्षामा २ हजार बढी विद्यार्थी सहभागी भएका थिए।

‘निश्चित कोटा बाहेक थप विद्यार्थी भर्ना गर्न हामीसँग आवश्यक पूर्वाधार र जनशक्ति छैन,’ उनले भने, ‘कतै विद्यालयमा विद्यार्थी नभए पनि पूर्वाधार बनेका छन्। तर हाम्रोमा विद्यार्थी छन् तर पूर्वाधार र जनशक्ति छैनन्। त्यसैले पनि सबैलाई भर्ना गर्न सकिँदैन।’

पूर्वप्राथमिक तहदेखि तीन कक्षासम् मभने विद्यालयले सिधै भर्ना लिएको प्राचायै ज्ञवाली बताउँछन्। विद्यार्थीलाई भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिएको उनको भनाइ छ। अंग्रेजी माध्यममा अध्यापन हुने यो विद्यालयको मुख्य आम्दानी पनि अभिभावकबाट लिने शुल्क नै हो। त्यसका अतिरिक्त विद्यालयले सटर भाडाबाट पनि केही रकम आम्दानी गर्दै आएको छ।

अभिभावक र सटर भाडाबाट हुने आम्दानीबाट विद्यालयमा रहेका १३० भन्दा बढि शिक्षकहरूले तलब पाउने गरेका छन्। हाल विद्यालयमा ५ हजार २२९ विद्यार्थीहरू रहेका छन्। 

बुटवलकै देवीनगरस्थित नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा पनि नयाँ भर्नाका लागि प्रवेश परीक्षामा १ हजार भन्दा बढि विद्यार्थीहरू सहभागी भएका छन्।

यस वर्ष सबै कक्षामा गरी नयाँ विद्यार्थी २५० भर्ना गर्न सकिने भएपनि भर्ना हुन चाहने १ हजार ५ सय भन्दा बढि विद्यार्थीहरूले ‘स्तर मापन परीक्षा’ मा सहभागि भएको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले बताए।

निजीमा पनि भर्ना पाउन मुस्किल
उत्कृष्ट सामुदायिक विद्यालय मात्र नभएर बुटवलका राम्रा निजी विद्यालयहरूमा पनि विद्यार्थी भर्ना पाउन मुस्किल छ। बुटवलका अक्सफोर्ड माध्यमिक विद्यालय, न्यू होराइजन, एभरेष्ट बोडिङ, दिप बोडिङ जस्ता विद्यालयहरूमा चाहेर पनि अभिभावकले सन्तानलाई भर्ना गर्न पाएका छैनन्। यी विद्यालयहरूले पनि ‘स्तर मापन परीक्षा’ लिएर नयाँ विद्यार्थी भर्ना लिन्छन्।

अक्सफोर्ड बोडिङ स्कुलका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरूको नयाँ भर्नाका लागि चाप रहेपनि सबैलाई भर्ना लिन नसकिएको बताए। उनले सरकारी नीतिका कारणले निजी विद्यालयले लगानी बढाउन नसक्दा विद्यालयमा विद्यार्थी भर्ना लिन नसकिएको बताए।

‘हामी नयाँ कक्षा कोठा थप गर्ने पक्षमा छैनौं, पूर्वाधार पनि छैन,’ उनले भने, ‘कुनै विद्यार्थी केही कारणले अन्यत्र गएर स्थान खाली भएमा मात्र नयाँ भर्ना लिन सक्छौँ।’

दिप बोडिङ स्कुलका प्राचार्य टिकाराम न्यौपानेले पनि पूर्वाधार र जनशक्तिको प्रसङ्ग निकाल्दै भुसालकै तर्र्क गर्दै सबैलाई भर्ना लिन नसकिने दोहोर्याए। विद्यालयले प्राप्त गरेको गुणस्तरलाई ध्यानमा राखेर पनि धेरै विद्यार्थीहरूलाई भर्ना लिन नसकिएको नयाँ तर्क उनले थपे।

‘सरकारले निजी स्कुललाई हेर्ने दृष्टिकोणले पनि लगानी गर्न गाह्रो छ। कहिले गुठी त कहिले कम्पनी भनेर तर्साउने काम गरेको छ। त्यसैले पनि हामी लगानी कति गर्ने? कसरी गर्ने? भन्नेमा निजी क्षेत्र सशंकित छ’, उनले भने।
उनका अनुसार यस वर्ष ३५० विद्यार्थी नयाँ भर्नाका लागि विद्यालयमा आए पनि जम्मा २५० विद्यार्थीलाई भर्ना गरिएको बताए।

८ बैशाख, २०८१, १२:४२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।