विजय बरालको मुख्य अभिनयमा फिल्म ‘पूर्ण बहादुरको : सारङ्गी’ बन्दै

विजय बरालको मुख्य अभिनयमा फिल्म ‘पूर्ण बहादुरको : सारङ्गी’ बन्दै

काठमाडौँ : पछिल्लो समय हिट भएका फिल्महरूको व्यापारको जस मूल पात्रले पाए पनि सदाबहार अभिनयमा सधैँ प्रशंसा पाउन सफल पात्र बने विजय बराल। कबड्डीको सिरिजदेखि डिग्री माइलासम्म मूल पात्रको अभिनय सधैँ आलोचनाको केन्द्रमा रहँदा बरालको अभिनय अधिकांशलाई मन पर्यो। अभिनयको दृष्टिमा उनी निकै खारिए पनि सोलो फिल्ममा अभिनय गर्ने मौका भने पाएनन्।

फिल्मको व्यापारमा पनि उनले त्यही जादु देखाउन सक्लान्? त्यसको परीक्षण हुने भएको २०८२ मा। शुक्रवार घोषणा भएको फिल्म ‘पूर्ण बहादुरको : सारङ्गी’ मा विजय बराल मूल पात्रको भूमिकामा रहेको देखिन्छ।

सार्वजनिक भएको मोसन पिक्चरमा एक बालकसँगै रहेको मुख्य भोइस ओभर उनै बरालको छ। सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको मोसन पोस्टर अनुसार यो गाइने बाबु-छोराको सम्बन्धमाथि बनेको देखिन्छ। फिल्म २०८२ भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जानकारी दिएको छ।

मोसन पोस्टरमा सारङ्गीको मिठो धुनसँगै गाइने पात्र आफ्नो छोरालाई काँधमा बोकेर हिँडिरहेको देखाइएको छ। बच्चाले सोध्छ ‘तिमी मलाई सधैँ किन काँधमा बोकेर हिँड्छौ? हाँस्दै बाउले जवाफ दिन्छन्- म भन्दा ठुलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर।‘

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन्। रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको सङ्गीत छ ।

७ बैशाख, २०८१, १३:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।