एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईको सामना गर्दै, के भन्छ आँकडा?

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ।
खेल अल अमिरात क्रिकेट मैदानको टर्फ १ मा नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरू हुनेछ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिनेछ।
सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेल्नेछन्।
नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो।
अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै एसिया कप खेलेको थियो। प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो।
नेपाल र यूएईबीच हालसम्म नौवटा टी-२० अन्तर्राष्ट्रिय खेलिएकोमा पाँच खेलमा नेपाल र चार खेलमा यूएई विजयी भएका छन्। घरेलु मैदानमा नेपालले तीन र यूएईले एक खेल जितेका छन्।
प्रतिद्वन्द्वीको घरेलु मैदानमा नेपालले दुई र यूएईले एक खेल जितेका छन्। ‘न्यूट्रल भेन्यू’ मा भने यूएईले दुई खेल जितेको छ।
वैशाख ७, २०८१ शुक्रबार ०७:५९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।