ग्लोबल बैंकले हब इन्टरनेशनल एजुकेसनले सिफारिस गरेका विद्यार्थीलाई भारतमा उच्च शिक्षाका लागि शैक्षिक कर्जा दिने
काठमाडौँ : ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेसन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहजरूपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेसनका संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार बैंकले हब इन्टरनेशनलले सिफारिस गरेका विद्यार्थीहरूलाई भारतका विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरूपमा प्रवाह गर्नेछ।
हब इन्टरनेशनल एजुकेसनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् छिटो, सरल तथा सहज रुपमा यो कर्जा प्रवाह गरिने बैंकले जनाएको छ।
यस बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन्।
वैशाख ६, २०८१ बिहीबार २०:४६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।