सेयर बजारमा लगातार गिरावट, कारोबार पनि घट्यो

सेयर बजारमा लगातार गिरावट, कारोबार पनि घट्यो

काठमाडौं : नयाँ वर्षको सुरुबाटै ओरालो लागेको सेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन। 

बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि लगातार घटेको छ। 

५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ छ। यसअघि गत मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ विन्दुमा रहँदा कारोबार रकम २ अर्ब १० करोड ३० लाख रुपैयाँ थियो।
  
सोमबार २ अर्ब ७९ करोड ७५ लाख र आइतबार बजार कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो।    

१३ उप-समूहमा आज पनि सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो। लघुवित्त, उत्पादन तथा प्रशोधन, विकास बैंक उप-समूह अधिक घटेका छन्। 

कारोबारमा आएका कम्पनीमध्ये २ सय ११ वटाको सेयर मूल्य घट्दा लगानीकर्ता नोक्सानमा छन्। २७ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। 

खानीखोला हाइड्रोपावर, पोखरा फाइनान्स, एनआइसी एसिया ग्रोथ फण्ड–२, मध्य भोटेकोसी जलविद्युत, पिपुल्स पावर लगायत बढेकाको सूचीमा छन्। सर्किट स्तरमा बढ्ने कम्पनी भने छैनन्।

सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो। उक्त फाइनान्सको १७ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५ लाख, पोखरा फाइनान्सको ७ करोड ३७ लाख र शिवम् सिमेन्टको ५ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।   

सेयर मूल्य घटेका कम्पनीमा रुरु जलविद्युत परियोजना यो साता दोस्रो पटक परेको छ। गोर्खाज फाइनान्सको पनि घटेको छ।  

वैशाख ६, २०८१ बिहीबार १५:३३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।