गण्डकीमा प्रदेश सभाको बैठक डाँकियो, कांग्रेस असहमत

गण्डकीमा प्रदेश सभाको बैठक डाँकियो, कांग्रेस असहमत

पोखरा : सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिए पनि गण्डकी प्रदेश सभाको बैठक डाँकिएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

सरकार गठनमै झेल गरेका गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधवार वैशाख ७ दिउँसो ३ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गरेका छन्।

मुख्यमन्त्री नियुक्तिका विषयमा कांग्रेस सर्वोच्च अदालतमा गएपछि अग्राधिकार दिएर वैशाख १० मा पेशी तोकेको छ। तर मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाएपछि कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विज्ञप्तिमार्फत आपत्ति जनाए।

गण्डकीमा सभामुखको समेत समर्थन जोडेर एमालेका खगराज अधिकारीको नेतृत्वमा सरकार बनेपछि पाण्डे सर्वोच्च अदालत गएका थिए।

पाण्डेले विज्ञप्तिमा सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई बेवास्ता गर्दै अदालतको आदेशको अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैर जिम्मेवार कदम भएको उल्लेख गरेका छन्।

५ बैशाख, २०८१, १८:१२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।