एकीकृत समाजवादीले दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने

एकीकृत समाजवादीले दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने

काठमाडौं : एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

तर, सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई सुदूरपश्चिम सरकारको नेतृत्व दिने सहमति भएपनि एमालेले सोडारी बाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने विषय अघि सारेपछि सहमति जुट्न सकेको छैन। 

पार्टीको महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक जारी छ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठन हुन सकेको छैन। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधरको किचलोका कारण यसअघि नाउपाका दुई सांसदले पेश गरेको दाबी प्रदेश प्रमुख नाजिर मियाँले अस्वीकृत गरेका थिए।  

५ बैशाख, २०८१, १५:४५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।