अनि जेम पाँचतारे होटलको जागिर छाडेर 'धोबी' चौरमा रमाउन आइपुगे
क्षत्रपाटीको साँघुरो गल्ली हुँदै धोबीचौर जाँदा अहिले पनि विभिन्न स्थानमा कपडा सुकाइराखेको देख्न सकिन्छ। आफूहरूको बाक्लो उपस्थितिकाबीच यहाँका धोबी पेशाकर्मीले आफ्नो पुर्ख्यौली पेसालाई नै निरन्तरता दिइरहेका छन्।
तीनै मध्येका एक हुन्, जेम कुमार मगिया। मगिया भनेको धोबी जातिकै एक वर्ग हो। पहिला सबैले आफ्नो नामको पछाडि 'धोबी' नै लेख्ने गर्थे। अहिले भने यसका पनि थुप्रै वर्ग र नाम लेखिन थालेका छन्।
जेमलाई थाहा भएसम्म धोबी काम गर्ने उनी सातौँ पुस्ता हुन्। उनले देखेबाट उनको घरमा कपडा धुने काम कहिले पनि टुटेन। हुर्कँदै गर्दा उनमा पनि त्यो सीप तिखारिँदै गयो।
तर, आफूसँग लुगा धुने सीप हुँदाहुँदै पनि उनले अर्को काम गर्ने सोचे। सिटिइभीटीको क्रेज भएको बेला उनले परीक्षा दिए। उनले 'कुक'को प्रमाणपत्र समेत पाए। त्यसपछि उनले कयौँ पाँचतारे होटेलमा काम गरे।
लगभग १४ वर्ष होटेलमा काम गरेपछि भने उनी फेरि आफ्नै पुर्ख्यौली पेसामा फर्किए।
'यहाँको याक एन्ड यति होटेल र इन्डियाको होटेलमा समेत काम गरेँ,' उनले सुनाए, 'लामो समय काम गरे पनि त्यहाँबाट सन्तुष्ट हुन सकिनँ। त्यसबेला सिटिइभिटीको क्रेजले छोयो। सीप सिक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मान्यता त्यतिखेर पनि थियो।'
उनले यहाँ रेस्टुरेन्ट समेत खोलेका थिए। तर त्यो सबै बन्द गरेर उनी फेरि धोबी नै बने। जसबाट उनीभन्दा पनि उनको बुवा निकै खुसी भए, आफ्नो पुर्ख्यौली पेसाको निरन्तरता हुने भयो भनेर।
'सधैँ घरमा यही काम मात्र भइरहेको थियो। मैले लुगा पट्याउँदा पट्याउँदा यही पो जानिसकेछु। उता होटेल लाइनमा जानु भन्दा अगाडि त यो काम गरेकै हो,' उनले भन्दै गए, 'त्यै भएर होटेलको काम छोडेपछि पनि सिधै यता आउन सकेँ। त्यति गाह्रो पनि भएन। बाबाले अनुभव जे गरे पनि काम त यही गर्नुपर्छ भनिरहनु हुन्थ्यो। पुर्ख्यौली जागिर, यसैलाई निरन्तरता दिएँ। होटेल लाइनको दाँजोमा यो राम्रो पनि भइरहेको छ।'
यहाँ उनको वर्कसप छ। यसको 'आउटलेट' समेत उनले दुइटा खोलिसके। अहिले धोबी जाति मात्र नभएर धेरैले यो पेसा गरिरहेको देख्दा काममा प्रतिस्पर्धा बढेको उनले महसुस गरेका छन्।
'पुर्ख्यौली रूपमा, परम्परा जसरी नै गर्ने त भई नै हाल्यो। अहिले विभिन्न कम्पनीहरूले पनि केजीको सय/डेढ सय मात्र भनेर राख्छन्। त्यसले गर्दा चैँ हामीलाई अप्ठ्यारो हुन्छ,' निराश हुँदै उनले भने, 'यस्तो अव्यवस्थित बजार भएपछि जसको परिवार नै यसमा लागिरहेको छ, उनीहरूलाई त गाह्रो हुन्छ नि।'
अव्यवस्थित बजारले गर्दा प्राय ग्राहक पनि 'सस्तो' भन्दै त्यसप्रति आकर्षित भइरहेको हो कि भन्ने उनलाई लागिरहन्छ। जसले गर्दा कपडाको गुणस्तर घटिरहेको र छाला सम्बन्धी रोगहरूलाई समेत साधारण रूपमा लिन थालिएको उनको बुझाइ छ।
'त्यस्तो भएपछि अलि प्रोफेसनल नहुने रहेछ। मैले त केही ठाउँमा गएर हेरेको पनि छु। सबै प्रकारको कपडा एकै ठाउँमा धुँदा रहेछन्। कपडा धुने भनेको त एकदम टेक्निकल काम हो नि। कपडा मेशिनमा हालेर मात्र हुने होइन,' झोक्किँदै उनले भने , 'छोटो समयमा आउने त्यस्ता व्यक्ति/कम्पनीले गर्दा हामीलाई अप्ठ्यारो हुन्छ।'
कपडा सुकाउने ठाउँ छैन !
धोबीचौर भन्ने नाम नै यहाँका धोबीहरूले कपडा सुकाउनको लागि स्थापित गरेको भन्ने स्थानीयहरूको मान्यता छ। तर कपडा सुकाउने ठाउँ भने खुम्चँदै गएको छ। फराकिलो ठाउँ खुम्चिँदै गर्दा यहाँका धोबीहरूले कपडा सुकाउनको लागि कुनाकाप्चा खोज्दै हिँड्नुपर्ने अवस्था छ।
'हाम्रो जातको (धोबी) तीन जना मान्छेले चौर नै खडा गरेर यो काम गरेका रहेछन्। पहिला यो चौर थिएन रे। त्यसलाई चौर बनाएको भएर नाम नै धोबीचौर भएको रे। खासमा धोबीको चौर हो नि त्यो भनेको त। तर अहिले सार्वजनिक स्थल भन्दै जतिबेला जसले जे पनि गर्न थालेका छन्,' उनले भने,' अहिले भएको हाम्रो वडा कार्यालय नै खासमा लुगा सुकाउने ठाउँ हो।'
धोबीचौरमा केही समय अगाडि फुटसल बनाउने तयारी गरिएको थियो। त्यसमा बार लाग्ने कुरा थाहा पाएपछि स्थानीयले विरोध गरे। पछि फुटसल बनाउने कुराबाट स्थानीय सरकार पछि हटे पनि चौरमा फुटबल भने अहिले पनि खेलिन्छ। त्यही बेला कपडा पनि सुकिरहेकै हुन्छन्।
उनका अनुसार यहाँ अहिले पनि ३५० देखि ४०० को सङ्ख्यामा धोबीहरू छन्। जसमा अधिकांशको पुर्ख्यौली पेसा लुगा धुने हो।
'पुरै परिवार नै लागि परेका पनि छन्। अहिले त अरू जागिर खाएर धान्न नसकिने भएपछि फेरि यसमै फर्किनेहरू पनि धेरै छन्,' उनले सुनाए।
जेमका पुरै परिवार यसमै संलग्न छन्। त्यसबाहेक ८/१० जनालाई प्रत्यक्ष रोजगार समेत दिइरहेका छन्।
वर्कसप जानु, कपडा हेर्नु अनि पसल जानुमै उनको दिन बित्छ। पारिवारिक माहौल भएको कारण पनि काम गरेको जस्तो नलाग्ने उनी बताउँछन्। अनि बेला बेला आमा बासँग पहिला गरेको दुखको बारेमा गफिन्छन्।
'पहिला हाम्रो ममी बाबाले डुङ्गाकै कपडा कुट्नु हुन्थ्यो। स्टिमर गर्नको लागि फोसीमा पानी तताएर चाङ चाङ गरेर राख्नुहुन्थ्यो। स्टिमर गर्यो भने दाग, चिल्लो सब जान्छ के। त्यो बेला उहाँहरूले धुनुभएको कपडाको निखार नै अलग्गै हुन्थ्यो,' मुस्कुराउँदै उनले भने, 'त्यसपछि मजाले चौरमा सुकाउने। अनि आइरन पनि गोलले लगाएर राख्नु हुन्थ्यो। सबै हातैले, एकदम परम्परागत रूपबाट गर्नु हुन्थ्यो। त्यही भएर त अहिलेसम्म पनि मेरो ममी बाबा निकै स्वस्थ हुनुहुन्छ।
हामीले गर्दा त मेसिन आइहाल्यो नि। अहिले मेसिनले आनन्द त भएको छ। तर शरीर चैँ कमजोर भएको जस्तो लाग्छ। पहिला पैसा कम थियो। त्यै पनि पुगिरहेकै थियो। तर अहिले त अवस्था धेरै फेरिएको छ।'
धोबी जातिलाई नेवार जातिको 'तल्लो जाति' को रूपमा लिइन्छ। त्यसले गर्दा धेरै धोबीहरूले आफ्नो वास्तविक परिचय समेत खोल्न हिचकिचाउने गरेको उनले देखेका छन्।
'पहिला त सबैले धोबी नै भनेर लेख्ने हो। तर पछि कसैलाई मन परेन, कसैलाई लाज लाग्यो अनि अनेक लेखिन थाले। अहिले धोबीहरूले धोबी नै नलेखे पनि मगिया, कनोजिया अनि रजक भनेर लेख्छन्। धेरैले रजक भनेको चैँ सुन्नुभएको हुनसक्छ,' उनले सरासर भने, 'हामी पेसागत रूपमा कपडा धोएर खाने मान्छे हौ। धेरैले यो काम परिवर्तन गरे। कसैलाई लाज लाग्न थाल्यो। कसैलाई गाह्रो लाग्न थाल्यो। हुन त समय अनुसार चल्ने पनि हो। मेरै पसलमा पनि कहिलेकहीँ धोबी भनेपछि त्यत्तिकै जानुहुन्छ।'
जातीय विभेद उनले भोगेको याद छैन। तर बाबा, हजुर बाबाले भोगेको विभेदबारे भने उनी जानकार छन्।
उनी भन्छन्, 'पहिला पहिला त सानो जातको मान्छे भन्ने पनि थिए रे, बुवाले भन्नुहुन्थ्यो। बाजेको पालोमा त झन् भान्सामा चल्दैन, छिराउन हुँदैनसम्म भन्नुहुन्थ्यो रे। मेरो सबै साथीहरू नेवार नै छन्। मैले चैँ अहिलेसम्म त्यस्तो केही सुन्नु परेको छैन।'
धोबी छ, धारा छैन
काठमाडौँ महानगरपालिकाको १७ नम्बर वडामा १७ वटा ढुङ्गे धारा रहेको उनले सुनेका रहेछन्। तर, कपडा धुनको लागि धोबीहरूले नै धाराको व्यवस्था गरेको उनी बताउँछन्। जसमध्ये अधिकांश मासिइसकेका छन्।
'एउटा समुदायमा एउटा धारा त हुने नै रहेछ। हाम्रोमा पर्ने चैँ हिती हो। त्यो पनि झनै मासिइसकेको थियो। तर दुई वर्षअघि पुनर्निर्माण गरेर अहिले पानी आउन थालेको छ। त्यति धेरै धारामध्ये अहिले यसमा मात्र पानी आउँछ,' उनले सुनाए। त्यो हिती कति पुरानो हो भनेर कसैलाई पनि थाहा नभएको उनले खुलाए।
धोबी र धारा कति नजिक छ भनेर उनले सुनाउँदै गए, 'यो भन्दा अलि तल निरा हिती छ, त्यो अर्कै टोलको रहेछ। अनि बुजा हिती। ढुङ्गे हिती पनि छ। यति धेरै धोबी भएको ठाउँमा त्यति धारा त चाहिने नै भएर हाम्रो पुर्खाहरूले बनाएका होलान्। बालाजुमा पनि केही धोबी छन्। त्यहाँ पनि हिती त छ। त्यस्तै त्यस्तै धोबीधारा, धोबीघाट, धोबीखोला सबैमा पानीको राम्रो व्यवस्था छ नि। धोबीहरू भएको ठाउँमा पाँच घर मात्र भए पनि हिती चैँ हुन्छ रे, त्यस्तै थ्यो हाम्रोमा।'
तर धोबीचौरको धोबीहरू प्रायले अहिले मेसिनबाट निकालेको पानी नै प्रयोग गर्छन्। त्यस्तै केहीले ट्यांकरबाट किनेर पनि चलाउँछन्। कपडा सुकाउने ठाउँ जस्तै पानीको स्रोत पनि साँघुरिँदै गएको छ। यसको लागि उनीहरूले स्थानीय सरकारसँग कुरा अगाडि बढाउने तयारी पनि गरिरहेका छन्।
लगभग ७० प्रतिशत धोबी नयाँ प्रविधिमा गइसकेको जेमले देखेका छन्। मेसिनबाट पानी निकालेर, मेसिनमै कपडा धोए पनि कपडा सुकाउने मेसिन भने निकै महँगो भएको हुँदा सुकाउन चैँ घामकै आश पर्नु पर्ने उनले सुनाए।
उनको प्राय ग्राहकहरू व्यक्तिगत नै हुन्छन्। होटेलको कपडा उनले खासै लिएका छैनन्। कपडा लिँदा उनले भित्री वस्त्र भने लिँदैनन्। अनि कपडाको गुणस्तर अनुसार नै उनले मूल्य पनि तोक्छन्। उनले सबैभन्दा महँगो चैँ सारी धोएको लिने रहेछन्।
'मैले सारीको तीन सय देखि २५ सयसम्म लिने गरेको छु। तासको सारीहरू हुन्छ। कुनै कुनै चाँदीको धागोले भरेको हुन्छ। धुँदा प्रक्रिया मिलेन भने कपडाको लाइफ घट्छ। धोए पनि नयाँ जस्तो देखिँदैन। कपडा धुने भनेको त निकै टेक्निकल हो नि,' उनले सुनाए।
उनका अनुसार कपडा सफा पार्नको लागि पानी चैँ सफा हुनुपर्छ। कडा पानी र नरम पानी भनेर त्यसको तापक्रम मिलाउनु पर्छ। इनार, बोरिङ्ग लगायतको पानी कडा पानी हो। अनि सबैभन्दा नरम पानी चैँ आकाशको पानी हो। कपडा अनुसार पानी आवश्यक पर्छ। नत्र कपडाको रंग खुइलिने, मक्किने हुन्छ। कुनै बेला कडा पानीलाई नरम र नरम पानीलाई कडा पनि बनाउन पर्ने हुन्छ।
'यो काम भनेको निकै गाली खाने काम पनि हो। बिग्रेकै लुगा ल्याएर मेरो कपडा बिगार्यो भन्नेहरू पनि आउँछन् । ग्राहकहरूको चित्त बुझाउन गाह्रो छ। हामी नयाँ र पुरानो दुवै विधिबाट गर्छौँ। कपडाको इज्जत गरेर कपडा धुनुपर्छ भन्ने हाम्रो मान्यता हो। सबै कपडा उस्तै हुँदैनन्,' उनले भने।
काम राम्रो भए पनि समुदाय एकजुट हुन नसक्दा समस्या भइरहेको उनको बुझाइ छ।
उनी भन्छन्, 'सबै जना मिलेर गर्यो भने राम्रो। कम्युनिटी बेसमा रेट पनि एउटै भयो भने राम्रो हुन्छ। अहिले त जसले कम दिन्छ उसले सक्यो भन्ने अवस्था छ। यसले गर्दा कपडाको भ्यालु घट्छ। हामी त भोलि पर्सिसम्म टिक्नु पर्ने छ।'
वैशाख ३, २०८१ सोमबार २२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।