‘द रेड सुटकेस’ : नागरिकको शवसँग सम्बृद्धि साटिरहेका क्रूर शासकको मुकुन्डो उतार्न सफल
राज्य रेमिटेन्सले भरिएको ढुकुटी हेरेर रमाइरहँदा नेपाली समाजको अवस्था कस्तो थियो? भोली कुनै समयमा, कुनै नेपालीलाई अहिले वैदेशिक रोजगारीले भरिएको ढुकुटीसँगै राज्य सञ्चालकको मुहारमा ल्याएको उत्साह अनि त्यसले निम्त्याएको समाजको पीडा दृश्य माध्यमबाट थाहा पाउन मन लागेको अवस्थामा द रेड सुटकेस सबैभन्दा उपर्युक्त चयन हुनसक्छ।
शव छोपिएको कफिनसँगै फर्किएको रातो सुटकेसलाई बिम्ब बनाएर निर्देशक फिडेल देवकोटाले भोलीका पुस्ताका लागि वैदेशिक रोजगारीले घर-घरमा भित्र्याएको कहर दृश्य माध्यममा सुरक्षित गरिदिएका छन् फिल्म ‘द रेड सुटकेस’ मार्फत
रेमिटेन्ससँगै भित्रिइरहेका कफिन अनि कफिनको ठेगाना खोजिहिँडेका पात्र मार्फत अहिलेको समाजको अवस्था दर्साउन सफल भएका छन् निर्देशक देवकोटा। नेपाली फिल्ममा देखिने पटकथाको लय यो फिल्ममा पनि बिग्रिएको छ। फिल्मका पात्रहरूमाझ द्वन्द्वको निर्माण त्यति बलियो बनाउन सकेका छैनन् निर्देशकले। तर कथ्य शैली, छायाङ्कन, पात्रका अभिनय अनि फिल्ममा प्रयोग गरिएका सशक्त बिम्बात्मक दृश्यहरूमाझ ती कमजोरी अदृश्य भएका छन्।
बाकसमा फर्किएका धनबहादुर बिक र उनीसँगै आएको रातो सुटकेसमार्फत निर्देशक देवकोटाले रेमिटेन्समा रमाइरहेका शासकहरूलाई गतिलो सन्देश दिएका छन्। हाम्रा शासक जति झापड खाए पनि, जति घोचे पनि नछुनेगरि चाम्रा भइसकेका छन्। तर हलसम्म पुग्ने दर्शकको मन अझ विशेष कुनै न कुनै परिवार वैदेशिक रोजगारीमा गएकाको परिवार हलसम्म ‘द रेड सुटकेस’ हेर्न पुगे भने उनीहरू ओभानो आँखासहित हलबाट निस्कन सम्भव छैन।
विदेशबाट आएका शव सम्बन्धित ठेगानामा पूर्याउने चालक (सौगात) को जिम्मामा आइपर्ने रातो सुटकेससहितको कफिन बेयुल गाउँसम्म पुग्दाको कथा नै ‘द रेड सुटकेस’ को कथा हो। कफिन भित्र भएको शव अनि शवसँगै रहेको रातो सुटकेसभित्र के होला भन्ने चालकको खुल्दुली वरपर फिल्म घुमेको छ।
वैदेशिक रोजगारमा गएका धनबहादुर विकमार्फत निर्देशकले वैदेशिक रोजगारीको कहर देखाउन निकै शक्तिशाली दृश्यहरूको प्रयोग गरेका छन्। भर्खर जन्मिएको छोरीको नाम के राख्ने भनेर विदेशमा रहेका श्रीमान्ले श्रीमतीसँग फोनमा सल्लाह गरेर जुराउने नाम ‘आशा’, बेयुल गाउँमा शव लैजान गाडिले कोटेश्वरको सडक नापिरहँदा उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानको एकै फ्रेम अनि गाडीबाट शव निकाल्न आउने युवा विहीन महिलाहरूको दृश्य दर्शकको मुटु हल्लाउन काफी छ।
यात्राकै क्रममा भेटिने भूपू भारतीय सैनिक विपिन कार्की र चालक सौगातबीचको संवाद नेपाली नेताहरूबारे आम नागरिकमा परेको छवि देखाउन काफी छ। विपिनमार्फत निर्देशकले प्रश्न गरेका छन् ‘यो देशमा गरिब निमुखाहरूका लागि पनि सरकार छ र?’
घर आइपुगेका श्रीमान्को टाउको सुमसुम्याउँदै सुतेकी श्रीमती (सृष्टि श्रेष्ठ) बिहान उठेर श्रीमान् खोज्दाको दृश्यले नेपाली समाज बोलेको छ। फिल्ममा निर्देशकले रातो रङ्गको अर्थपूर्ण रूपमा प्रयोगको प्रयास गरेका छन्।
काठमाडौँबाट घरसम्मको यात्रामा उनले धेरै कुराहरू अटाउने कोसिस गरेका छन्। शव राखेको गाडीमा धूप बाल्नेदेखि शव बोकेर घरमा पुर्याएपछि ‘घरमा कोही हुनुहुन्छ’ भनेर सोध्नु तर शव ल्याएको छु नभनी गाउँले भेला पार्ने दृश्यले नेपाली समाजको विश्वास र व्यवहार देखाउने प्रयास गरेका छन्।
किनकि अहिले पनि टाढा रहेका कसैलाई घरमा कुनै घटना भएर मृत्यु भएमा ‘मृत्यु भयो’ नभनी सिकिस्त हुनुहुन्छ मात्र भनेर बोलाउने गरिन्छ। यसको अर्ध एक्कासि दुखद खवरदिँदा मानसिक झड्का नलागोस् भनेरै त हो नि। त्यसलाई निर्देशक देवकोटाले फिल्ममा अटाउने प्रयास गरेका छन्। शवसँगै धूप बाल्ने धार्मिक प्रचलन हो। त्यसलाई पनि छाडेका छैनन् उनले।
सौगात हुन् या विपिन वा प्रवीण अधिकारी पात्रको चरित्र चित्रण अनुसार अभिनयमा फिट भएका छन्। सृष्टिका लागि यो फिल्ममा अभिनय गर्न पाउनु उपलब्धि हो। ब्याक ग्राउन्ड म्युजिक कथा र दृश्य सुहाउँदो छ। छायाङ्कन उम्दा छ। ज्युँदो पात्रका रूपमा सौगात र सृष्टि मात्र छन्। बच्चाको अनुहार नदेखे पनि बच्चा छ भन्ने फिल्म निर्देशकले दिन सफल भएका छन्।
तै पनि फिल्ममा कुनै कमजोरी नभएको हैन। माथि नै उल्लेख भइसक्यो निर्देशकले फिल्म निर्देशनमा जुन मिहिनेत गरेका छन् त्यसमा बाँकी रहेका कमजोरीहरू माफी लायक छन्।
पत्रिकामा छापिएको एक तस्बिरकै आधारमा कथा बुन्दै पटकथामा ढाल्न सहज हुने कुरै भएन। यही पक्षमा निर्देशक केही फितलो देखिएका छन्। उनले केही मिहेनत गरेको भए पटकथा थप कसिलो हुन सक्थ्यो। कथालाई अगाडि बढाउन एफएमको फोनइन कार्यक्रम र श्रोतामार्फत अनौठो दृश्य निर्माणको प्रयासले अलि खल्ली खल्लो अनुभव गराउँछ।
आत्माको गृह प्रवेश र गतिविधिलाई थप पत्यारिलो बनाउन सकिन्थ्यो कि? सौगात र विपिनको भेट अनि शव बुझाइसकेपछिको विपिनको खोजीमा खुल्ने सत्यले कथामा सत्ता सञ्चालकहरूलाई गाली गराउन मात्रै त्यो प्लट घुसाइएको देखियो। विपिन र सौगातको लामो कुराकानीमा दर्शकको ध्यान फिल्मबाट भड्किन सक्ने जोखिम बढाएको छ।
तै पनि यस्तो पनि फिल्मको कथ्य शैली हुनसक्छ है भन्ने उदाहरण पेस गरेका छन् निर्देशक देवकोटाले।
बकवास फिल्महरूको भिडमा’द रेड सुटकेस’ अलग्गै सुन्दरता बोकेको फिल्म हो।यस्ता फिल्मले बक्स अफिसमा डङ्का पिटेमा मात्र नेपाली कला क्षेत्रमा आफ्नै कथा भन्ने आँट गर्नेहरूको सङ्ख्या बढ्ने छ। नत्र ‘द रेड सुटकेस’ जस्ता फिल्म दुर्लभ हुनेछ नेपाली कला क्षेत्रमा।
वैशाख ३, २०८१ सोमबार २०:५०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।