सन्दीपको मुद्दामा ‘गौशाला २६’को जन्मदर्ताको निवेदन झिकाउन अदालतको आदेश

सन्दीपको मुद्दामा ‘गौशाला २६’को जन्मदर्ताको निवेदन झिकाउन अदालतको आदेश

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित ‘गौशाला २६’ को जन्मदर्ता सम्बन्धी कागजात सक्कल नै झिकाउन अदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको  इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडाबाट जन्मदर्ताको कागजात बनाउँदा पेस गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश दिएको हो।

२०७५ पुस १८ मा जारी जन्मदर्ताको प्रमाणपत्र पनि पेस गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि लामिछाने फैसला बदरको माग गर्दै उच्च अदालत पुगेका हुन्।

यसअघि जिल्ला अदालत काठमाडौंले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर 'गौशाला २६ (६)' लाई बालिग ठहर गरेको थियो। सन्दीपले भने उनी बालिग ठहर भएको भन्दै आफूले सफाइ पाउनुपर्ने माग दाबी गरेका छन्।

 सरकारी वकिलले जिल्ला अदालतको फैसलाविरुद्ध पीडित बालिका नाबालिग नै भएको दाबी गर्दै उक्त मुद्दामा नाबालिगमाथि बलात्कारको कसुरमा लामिछानेलाई थप सजाय हुनुपर्ने माग गरेको छ।

‘...वडा कार्यालयबाट च.नं. २७६, मिति २०७९।०७।२९ को पत्र एवं च.नं.७१२, मिति २०६०।०३।०९ को पत्रबाट परिवर्तित नाम गौशाला २६ (६) (१) ले जन्म मिति २०६२।०२।१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९।०३।१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनी जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवम् च.नं.७१२, मिति २०८०।०२।०९ को पत्रसाथ संलग्न भएको भनिएको मिति २०७५।०९।१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति ...गाउँपालिका वडा ...को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेस गर्नुहोला,’ अदालतको आदेशमा भनिएको छ।

३ बैशाख, २०८१, १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।