नेपालको सडकमा १० हजार विद्धुतीय सवारी गुड्दा उत्साहित गेलाल नेपालमा गुडाउँदैछन् ६ सय २० किलोमिटर रेन्ज भएको स्काइवेल
जी मोटर्स कम्पनीले चाइनिज ब्रान्ड स्काइवेल प्रिमियम एसयूभी ईभी गाडी भित्र्याएको छ। वैशाख पहिलो साताबाट लन्च गरेर डेलिभरी सुरु गर्ने योजनामा रहेको जी–मोटर्स कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल नेपालको अफरोड बाटोका लागि यो गाडी सबैभन्दा प्रभावकारी भएको दाबी गर्छन्। टेस्ट ड्राइभ भइसकेको र स्काइवेल प्रिमियम एसयूभी ईभी एक पटकको चार्जमा ६ सय २० किलोमिटर रेन्जको माइलेज दिने उनको दाबी छ।
अन्तर्राष्ट्रिय बजारमा राम्रै छाप राखेको इभी गाडी नेपालमा भने पहिलो पटक लन्च हुन लागेको हो। उनै प्रबन्ध निर्देशक गेलालसँग अटो मोबाइल क्षेत्रको यात्रा, आगामी योजना, स्काइवेल गाडीका विशेषता लगायतका विषयमा केन्द्रित भएर उकेराकर्मी अमृत पुडासैनीले गरेको कुराकानीको सम्पादित अंश :
अटोमोवाइल क्षेत्रको यात्राबारे केही सुनाउनुस् न पहिला।
२००९ मा मास्टर्स सक्काएपछि भ्याकेन्सीबाट सिप्रदीमा प्रवेश गरेँ। त्यो भन्दा अघि अटोमोवाइल भन्ने थाहा थिएन। त्यहाँ जुनियर सेल्स अफिसरको रूपमा प्रवेश भएपछि नै यसबारे बुझेको हो। धेरै वर्ष काम गरेपछि सिनियर डेपुटी प्रडक्ट म्यानेजरको लेभलसम्म पुगेँ।
काम गर्ने सिलसिलामा टाटा, नानो, इन्डिका, भिष्टादेखी पछि आएका विभिन्न प्रडक्टहरू विक्री वितरण, बजारीकरण र सेल्समा फोकस हुँदै गर्दा अटोमोवाइल क्षेत्रमा छिरेँ।
२०१७ बाट जागिरे करियरलाई समाप्त गरेर अटोमोवाइल क्षेत्रमा आफ्नै काम सुरु गरेँ। त्यसपछि विभिन्न अटोमोवाइल डिलरहरूको काम गर्दै आएको छु।
अहिलेको कम्पनी जी मोटर्सको सुरुवाती दिनमा के कस्ता ब्रान्डमा काम गर्नुभयो?
२०१७ मा टिभियस बाइकको डिलरको रूपमा जी. मोटर्स प्रालिबाट रबी भवनमा बिजनेस सुरु गरेँ। त्यो बिजनेस ६ महिनामा बन्द गर्नुपर्यो। ६ महिनामै डेढ सय भन्दा बढी बाइक र स्कुटर बेचिएको थिएँ। त्यो बेलामा न्यून डिलर मार्जिनको कारणले ६ महिनामै बिजनेस घाटामा गयो। त्यो बेलामा आत्तिए पनि। यो बिजनेस फापेन भनेर बन्द गरेँ।
त्यसपछि चार पाङग्रे गाडीतिर लागेँ। पहिला कलङ्कीमा डिलर थियो। त्यसपछि भक्तपुरमै गरौँ भनेर सल्लाघारीको अपोजिटमा फोर्स गाडीको डिलरको रूपमा ४०- ५० वटा क्रर्जर जिप बिक्री गर्यौ। त्यसपछि २०१९ मा भक्तपुरमै रिनोको डिलरको रूपमा भक्तपुरमै परिचित भएर काम सुरु गरेँ। २०१९ मै नक्सालमा रिनोको डिलरकै रूपमा काम गर्यौ। त्यसपछि काठमाडौँ, भक्तपुर र इटहरीमा पनि रिनोको डिलरको रूपमा काम गर्यौ। काम गर्दागर्दै ५-६ सय गाडी विक्री भयो। त्यसपछि पूर्वमा मेरो आफ्नै दाइले निसानको डिलर खोल्नुभयो। अहिले हामी कियाको डिलरको रूपमा छौँ।
एक वर्ष अगाडिबाट अन्तर्राष्ट्रिय बजारको अभ्यास, र आफ्नो बिजनेसलाई पनि बढाउन स्काइवेयलको प्रिमियम इलेक्ट्रिक यसयुबि नेपालमै पहिलो पटक नेपाल ल्याउने तयारी गर्न थाले। अहिले हामी इम्पोटरको रूपमा नेपाली बजारमा छौँ। वैशाख पहिलो सातामा प्रडक्ट लन्च र बिक्री वितरण एकै पटक सुरु गर्दै छौँ।
इलेक्ट्रिक गाडीको आकर्षण बढिरहेको छ। तर अर्थतन्त्र चलायमान नहुँदा नेपाल भित्रिएकै ब्रान्डलाई गाह्रो देखिन्छ। यस्तो अवस्थामा नयाँ ब्रान्डतिर उपभोक्ताको ध्यान जाला त?
बिजनेस जोखिमपूर्ण त हुन्छ नै। तर जोखिम जसले बहन गर्न सक्छ त्यो व्यवसायी अगाडि आउने हो। जसले जोखिम बहन गर्न सक्दैन त्यो अगाडि आउँदैन। त्यसैले म जोखिम उठाउन तयार भएको हुँ।
अर्थतन्त्रका चक्र-परिचक्रको मूल्याङ्कन पनि हामीले गर्नुपर्छ। त्योसँग हरेक किसिमको व्यवसायी अगाडि बढ्नुपर्छ। अहिले नेपालको अर्थतन्त्र सुस्त छ। मन्दीको अवस्था छ। अटोमोवाइल क्षेत्र नियालेको १७ वर्ष भयो। नेपाली बजार पछिल्लो ३ वर्षमा पेट्रोल, डिजेलबाट सिफ्ट भएर इलेक्ट्रिक गाडीमा ट्रान्स्फर भएको छ।
३ वर्ष अगाडी गएर हेर्यौ भने, नेपालमा २ सय वटा मात्रै चाइनिज गाडी इलेक्ट्रिकको रूपमा आयात भएर बिक्री वितरण भएको थियो। त्यो पनि चुनौतीपूर्ण थियो। यसको पछाडि पूर्वाधारको कमी, बजारको अवस्था, ग्राहकको उत्तेजना रूपमा सहभागिता लगायतको कन्फिडेन्स भएको थिएन।
सन् २०२१-०२२ मा आउने हो भने, झन्डै हजार, १२ सय गाडी भारत- चाइनाबाट आउन थाले। त्यसपछि बजार चल्न थाल्यो। फेरी सरकारको अस्थिर नीतिले बजेटमा नीति परिवर्तन हुने कारणले फेरी रोकियो। फेरी २०२२-२०२३ मा बजार चल्यो। तीन हजार बढी गाडी ल्याइयो, केही चाइनिज, केही इन्डियन गाडी आउन थाल्यो।
२०२३-०२४ को वर्षलाई हेर्दा मार्च अन्तिमसम्ममा १० हजार बढी इभीको गाडी भेटिरहेका छौँ। नेपाली सडकमा १५ सय बढी गाडी स्टक छ भने ८ हजार भन्दा बढी इलेक्ट्रिक गाडी रोडमा गुडिरहेको छ। डिजेल, पेट्रोलबाट चल्ने गाडी इभीमा कन्भर्ट भइरहेका छन्।
अहिले नीति र पूर्वाधार दुवै इलेक्ट्रोनिक गाडी अनुकूल छ। नेपाल विद्युत् प्राधिकरणले फास्ट चार्जिङ स्टेसन स्थापना गरेको छ। जसले गर्दा इभिमा जान ग्राहक तयार भए। अब व्यवसायीक योजना परिवर्तन हुनुपर्छ भनेर यो प्रडक्ट ल्याएका हौँ। एक हिसाबले भन्दा रिस्क लिएको हो।
नेपालमा अन्य ब्रान्डका इलेकट्रोनिक गाडीहरू ग्राहकसम्म पुगिसके। त्यो बेलामा स्काइवेल प्रिमियमतिर कसरी आउन सक्छन्? एक्सक्लुसिभ सुविधा के छ यसमा?
नेपालको लागि स्काइवेल नयाँ ब्रान्ड हो तर यो नेपाल लगायत ६० भन्दा मुलुकमा बिक्री वितरण भइरहेको छ। युरोपियन स्तरको युरोपियन क्वालिटी साथै, प्रिमियम सेग्मेन्टमा बजारीकरण गर्न मिल्ने गाडी भएकाले इभी गाडी प्रेमीको रोजाइमा पर्नेमा ढुक्क छौँ।
पोल्यान्ड, टर्की, इजरायल लगायतको देशमा यसको ठुलो बजार बनिसकेको छ। युकेमा स्काइवेल जाँदै छ। अस्ट्रेलिया र युरोपकासाथै ल्याटिन अमेरिकामा प्रवेश गरिसकेको छ। त्यता यो परीक्षण भइसकेको उत्पादन हो।
नेपालको सन्दर्भमा पहिलो पटक हो। यसको सबैभन्दा बलियो पक्ष नै चार्जिङ रेन्ज हो। हामीले पटक-पटक गरेको परीक्षणमा एक पटक चार्ज गर्दा यसले ६ सय २० किलोमिटरको रेन्ज दिएको छ। नेपालको भौगोलिक अवस्था र यसको रेन्जले गर्दा नेपाली ग्राहकहरूको रोजाइमा स्काइवेल पर्नेमा ढुक्क छौँ।
अन्य इभी गाडीको तुलनामा स्काइवेल प्रिमियमको मूल्य अलि मंहगो भएन?
प्रडक्टको प्राइज ३,४ वटा कुराले निर्धारण हुने हो। पहिलो त गुणस्तरकै कुरा भयो। मेकिङ्ग र ब्रान्डले पनि मूल्य निर्धारण हुन्छ। यो नेपालमै पहिलो पटक ६ सय २० रेन्ज दिने प्रडक्ट हो। ८६ किलोवाट आवरको ब्याट्री प्याकेज छ। यो भनेको नेपालमा आएका सबै ब्रान्डका इभी मध्येमा यो सबैभन्दा उच्च रेन्ज दिने ब्रान्ड हो।
ब्याट्री हाई भएपछि कस्ट बढ्यो। दोस्रो सय देखी २ सय किलोवाटको भन्सार दरमा हामीले भित्र्याएका छौँ, जुन अग्रार्निक बन्ड मोटर हो। अहिले धेरै ब्रान्डले ९९ किलोवाटमा सरकारले भन्सार सहुलियतले बिक्री एडभान्टेज बनाएका छन् जसले गर्दा प्राइज तल देखिन्छ। यो प्रडक्ट १ सय ५० किलोवाटको हो। १ सय ५० किलोवाटले पावरपुल मोटरमा १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिन्छ। त्यो हुँदा भन्सार दर बढ्यो।
ब्याट्री क्यापसिटी र रेन्ज क्यापसिटी धेरै भएको कारणले गर्दा हाम्रो मूल्य बढ्न गयो। सेप्टी टेस्टेड प्रडक्ट हो। यसले पनि मूल्य केही बढी हुन्छ नै। तर अहिलेको बजारलाई हेर्दा यो क्याटगरीका गाडीमा त्यति धेरै महँगो हैन।
नेपालमा सबैभन्दा ठुलो समस्या नै बाटोको गुणस्तरमा देखिन्छ। नेपालको गुणस्तरहीन बाटोमा तपाइको प्रडक्ट फिट हुन्छ त?
यो इभीलाई अफरोड लिएर जाँदा कुनै फरक पर्दैन। यसमा विलडप क्वालिटी छ। हाई गान्ड १ सय ९० भन्दा बढी छ। यसको टायर १ सय एमएम प्लसको छ। यसको टायर साइज १९ सय अलइन्चको रिम साइजमा ९० इन्जमा आउँछ। र बडीको हिसाबले गाडी एसयुविटी चाहिन्छ।
नेपालमा १ करोड भन्दा माथिका इभीहरु छन्। ती कार साइजमा छन्। क्रसओवर डिजाइनमा छन्। हाम्रो भन्दा बढी मूल्यका पनि छन्, कम मूल्यका पनि छन्। तर त्यो भन्दा हाम्रो प्रडक्ट फरक छ. त्यसले प्रमाणित गर्छ।
यो नेपालमा लन्च गर्नु अगाडि नै हाम्रो टिमले ५ हजार किलोमिटर भन्दा बढी एउटै गाडीलाई हरेक बाटोमा कुदाइसकेका छौँ। अलि अगाडि हामी यही गाडी लिएर इलामको मोटर र्यालीमा समेत गएका थियौँ। अन्य बाटोमा पनि ५ हजार किलोमिटर दौडाइसकेका छौँ। गाडी ल्याएको हप्ता दिन भित्रै टेस्ट गरिसकेकोले पनि हामी पूर्णरुपमा विश्वस्त छौँ। अफरोड सुहाउँदो छ यो प्रडक्ट।
चार्जिङ्ग स्टेसनको पनि अभाव छ। भनेको ठाउँमा चार्ज गर्न पाइन्न। यस्तो अवस्थामा नेपालमा इभीको बजार बढ्न सक्छ र?
यो समस्या छ। अरू कम्पनीहरूले चार्जिङ स्टेसन राखे पनि पूर्वाधारको राम्रो व्यवस्था छैन। चार्जिङ्ग स्टेसनको आसपास सुविधा सम्पन्न होटेल पनि छैन। बर्खामा पानी परेको बेला अलपत्र पर्ने अवस्था छ। त्यही हेरेर नै हामीले बढी समय ब्याट्री टिक्ने उत्पादन नेपाल ल्याएका हौँ। अर्को कुरा प्रयोगकर्ता बढेपछि बिस्तारै पूर्वाधार बन्दै पनि जान्छन्। हिजोको दिनमा भन्दा आजको दिनमा सङ्ख्या त बढेको छ नि।
स्काइवेलको ब्याट्री कस्तो हो?
यो कम्पनीको आफ्नै ब्याट्री प्लान्ट छ। स्काई सोर्स भनेको ब्याट्रीको प्लान्ट हो र लिथियम टर्ननोटरी ब्याट्रीको टेक्नोलोजी हो। प्लान्टले आफै ब्याट्री बनाएर, गाडीमा फिट गरेर सप्लाई गर्छ। अहिलेसम्म हेर्ने हो भने उत्कृष्ट, रेन्ज, क्वालिटीमा सम्झौता नगरेकाले नै हामी उत्साहित भएका हौँ।
सवारी बेच्ने एउटा पक्ष भयो। अर्को सर्भिसिङ पनि महत्त्वपूर्ण छ। तर नेपालमा सर्भिसिङमा धेरै गुनासो आउनुको कारण?
वस्तु बिक्री गरेपछि सर्भिसलाई पनि चुस्त, दुरुस्त राख्ने हाम्रो दायित्व हो। त्यसमा हाम्रो पूर्ण तयारी छ। आउने दिनमा हाम्रो भक्तपुर, नक्साल, इटहरीमा रहेको कम्पनीबाट हामीले सेवा दिन्छौँ। काठमाडौँ, भक्तपुर, इटहरीमा हाम्रो वर्कसपबाट हामीले काम गछौं। त्यस बाहिरका बजारमा हामीले पोखरा, नारायणघाट, बुटवल लगायतको ठाउँमा हामीले डिलरसिप नेटवर्कमा जाँदै छौँ। डिलरले नै सर्भिसको साथै बिक्री वितरण पनि गर्छ। सही पार्ट, सही क्वालिटीको सहुलियतसहित सर्भिस सेन्टरहरू हुन्छन्।
वैशाख ३, २०८१ सोमबार १८:४६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।