राप्रपाको आन्दोलनमा घाइते भई मृत्यु भएका नेता डाँगीलाई शहीद घोषणा गर्न माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक साताअघि काठमाडौंमा गरेको आन्दोलनमा घाइते भई मृत्यु भएका बर्दियाका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ।
सोमबार राप्रपाले शोक वक्तव्य जारी गर्दै डाँगीको निधनले राप्रपालाई ठुलो क्षति पुगेको भन्दै उनलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो।
राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरूमाथि भएको प्रशासनिक दमन निन्दा गरेको छ।
श्वासप्रश्वासको समस्याबाट पीडित डाँगी प्रहरीले चैत २७ गते गणतन्त्र र धर्म निरपेक्षता खारेज गर्नुपर्ने लगायत विभिन्न ४० बुँदे माग राखेर गरेको आन्दोलनमा आन्दोलनकारीलाई हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसको असरले डाँगीको स्वास्थ्य बिग्रिएको थियो।
त्यसपछि अस्पताल भर्ना भएका डाँगीको आज बिहान निधन भएको हो।
वैशाख ३, २०८१ सोमबार १८:३३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।