एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै
काठमाडौं : एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ।
खेल नेपाली समय अनुसार ११ बजेर ४५ मिनेटमा ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ।
साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो।
हङकङ भने आइतबार साउदी अरबसँग पराजित भयो। आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हरायो। पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको थियो।
हङकङविरुद्धको टी-२० क्रिकेटमा नेपालले हालसम्म खेलेका ११ मध्ये ६ खेलमा जित हात पारेको छ भने चार खेल हङकङले जितेको छ। एक खेलमा नतिजाविहीन भएको छ।
पछिल्लो पटक सन् २०२४ को मार्चमा मोङ कोकमा भएको खेलमा हङकङले नेपाललाई ७३ रनले हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स यूएई छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
फाइनल जित्ने टोलीले आगामी वर्ष हुने एसिया कप खेल्नेछ।
वैशाख ३, २०८१ सोमबार ०७:३१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।