अनलाइन जुवामा कनेक्ट आइपिएसको दुरुपयोग, ९८ खाताबाट ५७ करोड कारोबार

अनलाइन जुवामा कनेक्ट आइपिएसको दुरुपयोग, ९८ खाताबाट ५७ करोड कारोबार

काठमाडौँ : कनेक्ट आइपिएसमार्फत बैङ्कको खाताबाट अनलाइन सट्टा खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र मलंगवा–१० का ३० वर्षीय राकेश चौधरीलाई पक्राउ गरेको हो।

कार्यालयले उनीहरूको साथबाट २१ वटा मोबाइल बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा ९८ वटा बैङ्क खाता खोलेर उनीहरूले कनेक्ट आईपीएसमा बैङ्क खाता कनेक्ट गरेर सट्टाको कारोबार गरेको कार्यालयले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान उनीहरूले अहिलेसम्म ५७ करोड ४१ लाखको कारोबार गरिसकेको खुलेको छ। उनीहरूले सट्टेबाजीसँगै क्रिप्टो करेन्सीको समेत कारोबार गरेको देखिएको कार्यालयको दाबी छ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

खेलाउनेलाई कारबाही, जुवा प्रवर्धन गर्नेप्रति मौन

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले वाएक्सबेटमार्फत सट्टा खेलाएको आरोपमा तीन जना पक्राउ त गर्यो तर अनलाइन जुवा प्रवर्धन गर्नेहरुविरुद्ध भने प्रहरी मौन रहने गरेको छ।

नेपालमा भइरहेका अधिकांश क्रिकेट प्रतियोगितामा वानएक्सबेट र डाफान्युज मिडिया पाट्नरको आवरणमा भित्रिने गरेका छन्। क्रिकेट एसोसिएसन अफ नेपालले सहजै उनीहरूको प्रचार गर्ने गरेको छ। उकेराले यसबारे पटक-पटक प्रमाणसहित समाचार सम्प्रेषण गरे पनि राष्ट्रिय खेलकुद परिषद् अनि खेलकुद मन्त्रालय अवैध कामप्रति मौन बस्ने गरेका छन्।

वैशाख २, २०८१ आइतबार २३:०४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।