राप्रपालाई देउवाको चेतावनी : 'केही मान्छेहरू राजा फर्काउनुपर्यो भनेर हिँड्दै छन्, तर त्यो असम्भव छ'

राप्रपालाई देउवाको चेतावनी : 'केही मान्छेहरू राजा फर्काउनुपर्यो भनेर हिँड्दै छन्, तर त्यो असम्भव छ'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्। 

आइतबार काठमाडौंमा स्व. सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने भन्दै राजा नफर्किने बताए।

आफूहरूले विगतमा बन्दुक उठाएकाले पनि अहिले बहुदलीय व्यवस्था मानेको उनको भनाइ छ। 

उनले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको औंल्याएका छन्।

'...अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्यो भनेर मान्छेहरू हिँड्दै छन्। राजा फर्किन्छ भन्ने होइन। यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ,' उनले भने, 'धेरै कुराहरू सुधार गर्न पनि सहमति हुनुपर्छ, दुईतिहाइ चाहिन्छ। केही समस्या र कमी कमजोरी रहन्छन् भने पनि सुधार गरेर जाऔँ। तर, अब राजा फर्काउने असम्भव कुरा देख्छु मैले।'

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका निम्ति स्व. थापाको महत्त्वपूर्ण भूमिका रहेको बताए। 

वैशाख २, २०८१ आइतबार १३:३९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।