बरू सरकार ऋणमा डुबोस् तर किसानलाई ऋण लाग्नु हुँदैन : कृषिमन्त्री

बरू सरकार ऋणमा डुबोस् तर किसानलाई ऋण लाग्नु हुँदैन : कृषिमन्त्री

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले युवा र महिलाका लागि स्वदेशमै रोजगारीको सिर्जना गरेर विदेश पलायन हुने थितिको अन्त्य गर्न सरकार लागि परेको बताएकी छिन्। 

शनिबार देशभक्त युवा नेपालद्वारा आयोजित आत्मनिर्भर युवाहरूलाई सम्मान तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आम युवाहरू आत्मनिर्भर बन्न सक्यो भने मुलुक समृद्धिमा लम्किने बताइन्। 

उनले भनिन्, ‘विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागिपरेकी छु। विशेषगरी टिमुरको अचार बनाएर दर्जनौं देशमा निर्यात गरिरहेका महिलाहरूका लागि हामी सहयोग गर्न तत्पर छौं। जति धेरै युवाहरूले आ–आफ्नो क्षेत्रमा काम गर्न सक्यो त्यति नै मुलुक आत्मनिर्भर हुँदै जानेछ।’

नेपालमा दुई लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै साहले त्यसको आधा भागमा चैते धान खेती गर्ने गरि मन्त्रालय लागिपरेको बताइन्। 

उनले भनिन्, ‘नेपाल बाँझो जमिन दुई लाख हेक्टर छ। यो खाली जमिनमध्ये मैले एक लाख हेक्टर जमिनमा चैते धान खेती गर्यौ भने धानमा पनि आत्मनिर्भर बन्न सक्छौं। यसका लागि मन्त्रालय योजना बनाइरहेको छ।’

दुग्ध किसानको बाँकी बक्यौता तिर्न मन्त्रालयले ३० करोड ऋण लिएर प्रक्रियामा गएको उल्लेख गर्दै उनले सरकार ऋणमा डुबे पनि किसानलाई पिर पर्न दिन नहुने जिकिर गरिन्। 

उनले भनिन्, ‘ऋण खोजेरै दुग्ध किसानको दूधको बक्यौता भुक्तानीका लागि पहल गरेको छु। प्राविधिक प्रक्रियामा छ छिट्टै किसानका हातमा जानेछ। ऋण निकालेरै भएपनि किसानहरूलाई मर्का पर्न दिन्न। बरु सरकार ऋणमा डुबोस् तर किसानलाई ऋण लाग्नु हुँदैन। युवा र महिला अगाडि बढ्यो भने देश अत्यधिक सुन्दर र सम्बृद्धितर्फ जाने छ।’

वैशाख १, २०८१ शनिबार २०:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।