राप्रपालाई ओलीको चेतावनी : संविधान नमान्ने र एउटा 'मालिक' चाहियो भनेर कुद्ने गतिविधि सह्य हुँदैन

राप्रपालाई ओलीको चेतावनी : संविधान नमान्ने र एउटा 'मालिक' चाहियो भनेर कुद्ने गतिविधि सह्य हुँदैन

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चेतावनी दिएका छन्।

उनले गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएकाले संवैधानिक बाटोबाटै समस्याको समाधान गर्न सकिने भन्दै सोही अनुसारको गतिविधि अघि बढाउन राप्रपालाई सचेत गराए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले संविधान, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नमान्ने र एउटा ‘मालिक’ चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताए।

गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्ने उनको भनाइ छ। 

'...अहिले पनि केही मान्छेहरूमा उत्ताउलापनहरू देखिन्छन्। म ती राजनीतिक शक्ति र व्यक्तिहरू छन्, त्यस्ता राजनीतिक समूह वा व्यक्तिहरूलाई आग्रह पनि गर्न चाहन्छु, सुझाव पनि दिन चाहन्छु–संविधानको दायरा भित्र आउनुस्,' उनले भने।

उनले  राप्रपालाई कुनै पनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिबन्ध नलगाएको स्मरण गराए। 

उनले भने, '...अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन। निरंकुशताका समयमा राजतन्त्र भएका बेलामा त्यसले प्रतिगमन गर्थ्यो। अहिले जनताका अधिकार खोसिँदैन। खोस्न मिल्दैन। यो राजतन्त्र भएको समय होइन, खोस्न मिल्दैन। यो गणतन्त्र हो।'

वैशाख १, २०८१ शनिबार १७:३९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।