कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ?

एजेन्सी : विश्वका विभिन्न देशमा नयाँ वर्ष मनाउने आ–आफ्नै चलन छ।
वर्षभरिका बार, दिन र समय उस्तै भएपनि नयाँ वर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ। पहिलो दिनलाई उत्सवमा रुपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ।
नेपालमा अंग्रेजी, नेपाल संवत् र वैशाख १ गतेलाई विक्रम संवतका रुपमा नयाँ बर्ष मानेर मनाइँदै आएको छ। त्यसबाहेक विभिन्न जातजातिहरूले आफ्नो पर्वलाई नयाँ वर्षका रुपमा मानेर उत्सव गर्ने प्रचलन छ। आफ्नो भाषा, संस्कृति, धर्मका आधारमा नयाँ बर्ष मनाउने चलन रहँदै आएको छ।
प्राचिनकालमा नेपालमा नयाँ बर्षमा मठमन्दिरमा गएर पूजाआजा गरेर मनाउने चलन थियो। अहिले शुभकामना आदन-प्रदान र रमाइला कार्यक्रम गर्ने, रमणीय ठाउँहरू घुम्न जाने र मीठो-मसिनो खाएर नयाँ वर्षलाई उत्सवका रुपमा मनाइँदै आएको छ।
नयाँ वर्ष मनाउने चलनको सुरुवात पात्रोको उत्पतिसँग जोडिएको छ तर ठ्याक्कै कहिलेबाट मनाउन थालियो भन्ने प्रष्ट छैन। तर ईसापूर्व सातसयमा रोमका पहिलो राजा रोमुलसले १० महिनाको एक वर्ष मानेर पात्रो ल्याएको पाइन्छ।
चन्द्रमाको मासिक चक्रका आधारमा तयार हुने पात्रोमा ३ सय ४ दिनलाई एक वर्ष मानिन्थ्यो। उक्त पात्रोमा वर्ष मार्चमा सुरु भएर डिसेम्बरमा सकिन्थ्यो।
पछि रोमन राजा नुमा पोम्पिलियसले पात्रोमा जनवरी र फेब्रुअरी थपेर तीन सय ६५ दिनको बनाएको इतिहास पढ्न पाइन्छ। तर ईसापूर्व ४५ मा रोमन राजा जुलियस सिजरले पनि पात्रो ल्याएको पाइन्छ। सोही पात्रोमा जनवरी १ लाई नयाँ वर्ष मानिएको थियो।
तर त्यसबेला अप्रिल १ लाई पनि नयाँ बर्ष मानिएको भनिए पनि सन् १५८२ मा भेनिसका पोप ग्रेगोरी १३ औं ले नयाँ पात्रो ल्याएर जनवरी १ लाई नयाँ वर्ष मानेको इतिहास पनि भेटाइन्छ।
नेपालमा विक्रम संवत् अनुसार नयाँ बर्ष मनाइन्छ तर म्ह पूजाको दिन नेपाल संवतका रुपमा पनि नयाँ बर्ष मनाउने चलन छ। नेपालमा नयाँ बर्ष मनाउने आ–आफ्नै विशेषता भएपनि विश्वमा भने विविधता पाइन्छ।
देश अनुसार फरक र रोचक तवरले नयाँ बर्ष मनाएको पाउन सकिन्छ।
भारतमा नयाँ बर्ष मनाउने अनेक तरिका छन्। राज्य र भुगोल अनुसार फरक फरक शैलीले नयाँ बर्ष मनाइँदै आएको पाउन सकिन्छ। नयाँ वर्षमा भारतभर शुभ चलन हेर्ने चलन छ। कतिपय स्थानमा ब्रिटिसको प्रभावले नयाँ बर्ष मनाउने चलनमा धेरै फरक आएको पाइँदैन। आसाममा पशुको पूजा गर्ने चलन छ भने पश्चिम बंगालमा देवी-देवताको पूजा गर्ने र नाचगान गर्ने चलन छ। पंजावमा झाँगड नृत्य, भगवानको पूजा र नाचगान गरिन्छ भने राजस्थानमा मिठा-मिठा परिकार खाने साथै मन नपरेको जीवनसाथीसँग डिभोर्स गर्ने र नयाँ जीवनसाथी रोज्ने चलन पनि छ।
त्यस्तै, चीनमा नयाँ वर्ष मनाउँदा आतेजबाजी गर्ने साथै भूइँचम्पा उडाएर मनाउने चलन छ। नयाँ वर्षका अवसरमा चीनमा भान्साको देवतालाई स्वागत समेत गरिन्छ। स्वादिष्ठ परिकार खाने, बाबुआमा तथा मान्यजनबाट आर्शीवाद लिने चलन पनि छ। बर्मामा पनि नयाँ वर्ष मनाउने चलन चीनसँग मिल्दोजुल्दो छ।
थाइल्याण्डको भने कतिपय सन्दर्भहरू चीनसँग मिल्ने गर्छ। किनकी प्रत्येक घरमा दियो बालेर दीपावली गर्ने रंगीचंगी बनाएर घर सजाउने चलन चीनसँग मेल खान्छ। थाइल्याण्डमा नयाँ बर्षको आगमनलाई ‘नौरोज’ भन्ने गरिन्छ। विशेषतः गुम्बामा गएर प्रार्थना गर्ने र शान्तिको कामना गर्ने चलन छ।
कोरियामा नयाँ वर्ष मनाउने नौलो तरिका छ। यहाँ तीन दिनसम्म सरकारी विदा दिने गरिन्छ। कार्यालय, पसल तथा डिपार्टमेन्टल स्टोरहरू बन्द गरिन्छ। चामलको रोटी, रक्सी खाएर नयाँ वर्ष मनाउने चलन छ। यस दिन उमेर पुगेका युवायुवतीहरू बिहे पनि गर्ने गर्छन्।
नयाँ वर्षको रौनक बेलायतमा अझ बढी देख्न पाइन्छ। डिसेम्बरको मसान्तदेखि नै यहाँका घरहरू रंगीचंगी पार्ने, सजिसजाउ गर्ने र बत्ती बालेर झिलिमिली पार्ने गरिन्छ। युवायुवतीहरू नयाँ नयाँ लुगा लगाएर नाचगान गर्ने र इभका दिन हर्षबढाइँ गर्ने गर्छन्।
जापानमा नयाँ वर्ष ‘यावुरी’ मनाउने भिन्न शैली छ। यहाँ नवजात जलका रुपमा शुद्ध पानी पिउने, घरलाई हरिया विरुवाहरूले सजाउने चलन छ। नवजात जल पिउँदा आयु वृद्धि हुने र मृत्युपश्चात पुण्य प्राप्त गरिने विश्वास लिइन्छ। यसदिन चंगा उडाउने र साना बालबालिकालाई अक्षरारम्भ गराउने गरिन्छ। त्यसबाहेक मान्यजनहरुबाट आर्शीवाद लिने र पुरानो सबै ऋण तिर्ने चलन छ।
पोर्चुगलमा नयाँ वर्षको दिन पटाका पड्काउने, नाचगान गर्ने र शहरभरी धुनी जगाएर जाग्राम बस्ने चलन छ। यसका अलावा पोर्चुगलमा साँढे जुधाएर गरिने रमाइलो गर्ने चलन बेग्लै छ। साँढे जुधाउने खेल हेर्न टाढा टाढाबाट मानिसहरू आउने गर्छन् साथै खेल हेर्न पर्यटकहरू खुबै झुम्मिने गर्छन्।
नयाँ वर्षको दिन मेक्सिकोमा नाचगान, घुमघाम गर्ने चलन छ। त्यसबाहेक यहाँका चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्षलाई भव्य बनाउने गरिन्छ। सामूहिक विवाह गर्ने प्रचलन अफ्रिकामा पनि पाइन्छ।
जर्मनीमा नयाँ बर्ष मनाउने अनौठो शैली छ। यस दिन भविष्यवाणी गर्ने, नाचगान गर्ने चलन छ। जर्मनीमा पानीले भरिएको धातुको भाँडामा सिक्का खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवाणी गर्ने चलन छ।
त्यस्तै, भ्याटिकन सिटीमा नयाँ वर्षको पहिलो दिन बिहानै सेता परेवाहरू उढाउने चलन छ। सोही दिन भ्याटिकन सिटीमा रहेको चर्चमा ठूलो केक काटेर बाँड्ने गरिन्छ।
वैशाख १, २०८१ शनिबार १४:३०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।