सुप्रिम सहकारी प्रकरण : पुनलाई भेट्न हिरासतमा ‘ठूला’ नेताको लर्को, बचतकर्ताले रकम फिर्ता मागेपछि दिएका थिए राजीनामा

सुप्रिम सहकारी प्रकरण : पुनलाई भेट्न हिरासतमा ‘ठूला’ नेताको लर्को, बचतकर्ताले रकम फिर्ता मागेपछि दिएका थिए राजीनामा

बुटवल : बुटवलको सुप्रिम बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना भएको प्रकरणमा पक्राउ परेकामाथि प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी हिनामिनाको प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसहित पाँच जनामाथि अनुसन्धान गरिरहेको छ।

अनुसन्धान अन्तिम चरणमा पुगेको र नयाँ वर्षपछि अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा बुझाउने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए।

‘विज्ञ टोलीको सहायतामा अनुसन्धान जारी छ। अन्तिम चरणमा छौँ। नयाँ वर्षको पहिलो हप्तामा अनुसन्धान सकिनेछ’, उनले भने।

प्रहरीले सहकारी रजिष्ट्रार र कम्पनी रजिष्ट्रार कार्यालयबाट विज्ञ टोली र सीआईबीका अनुसन्धान अधिकृतको सहायता लिएर अहिले अनुसन्धान गरिरहेको छ।

सहकारीको रकम हिनामिनामा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई काठमाडौंमा चैत २ गते पक्राउ गरी बुटवल ल्याएको थियो।

सहकारीको रकम अपचलनमा पोखरामा पक्राउ परेका सहकारीका सचिव कुमार रम्तेल र आईटी प्रमुख भविश्वर अर्याललाई पनि बुटवलमा ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ। थप दुई जनालाई भने प्रहरीले फागुन ३ गते पक्राउ गरेको थियो।

सुप्रिम सहकारी बुटवलका अध्यक्ष ओम गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईंलार्ई  फागुन ३ गते पक्राउ गरेको थियो।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार दिपेश पुनले सहकारीको रकम आफूले अपचलन नगरेको बयान दिएका छन्। उनले पटक-पटक यस प्रकरणबारे आफूलाई केही जानकारी नभएको अनुसन्धानका क्रममा बयान दिएको ती अधिकारीले बताए।

पुनलाई भेट्न केही ठूला नेताहरू आएको डिएसपी पण्डितले जानकारी दिए। अन्य थुनुवा सरह सबैलाई राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ।

‘केही ठूला नेताहरू भेट्न आएका छन्। हामीले भित्र अरु थुनुवालाई सरह व्यवहार गरेका छौँ। सुविधा पनि सबैलाई बराबर दिएका छौँ’, उनले भने।

प्रहरीले सुप्रिम सहकारीमा जोडिएका पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरेपनि यस प्रकरणका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जिबी) राई र बुटवलका व्यवस्थापक सागर केसी भने अहिलेसम्म फरार छन्।

बुटवलका शाखा अध्यक्ष ओम गुरुङले पनि बयानका क्रममा रकम आफूले अपचलन नगरेको र सबै रकम व्यवस्थापक केसीले हस्ताक्षर गरेर काठमाडौं पठाउने गरेको बताएका छन्।

‘बचतकर्ताले रकम फिर्ता मागेपछि सचिवबाट पुनको राजीनामा’
सहकारीको बचत अपचलनमा संलग्न नभएको बताए पनि सुप्रिम सहकारीका संस्थापक सचिव रहेका दिपेश पुनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग्न थालेपछि राजीनामा दिएर उम्कने प्रयास गरेका थिए।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले सहकारीबारे गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा सहकारीका बचतकर्ताहरूले आफूहरूलाई जम्मा गरेको रकम चाहियो भन्दै सहकारीमा धर्ना दिन थालेपछि सहकारीका सचिव पुनसँगै कोषाध्यक्ष सुरज श्रेष्ठले राजीनामा दिएको उल्लेख छ।

२०७६ साल कार्तिक १६ गतेको साधारणसभाबाट सचिव बनेका दिपेश कुमार पुन र कोषाध्यक्ष सुरज श्रेष्ठले सहकारीको रकम हिनामिना भई आर्थिक समस्या देखिएपछि २०७९ मंसिर २४ गते राजीनामा दिएका थिए। पुन र श्रेष्ठको राजीनामापछि कुमार रम्तेललाई सचिव र आशिष आनन्दलाई कोषाध्यक्ष चयन गरिएको थियो।

२०७२ साल चैत्र ८ गते सहकारी डिभिजन कार्यालयका तत्कालीन प्रमुखले दर्ता गरि बेलखु १ ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको सञ्चालक समितिलाई सहकारी सञ्चालनको अनुमति दिएका थिए। सहकारी दर्ता गर्दा उपाध्यक्ष ओमप्रकाश गुरुङ बाहेक सचिव राजु बराल, कोषाध्यक्ष दिपेश पुन र सदस्यहरु सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राई थिए।

२०७२ सालमा सहकारी दर्ता गर्ने भन्दै डिभिजन सहकारी कार्यालय रुपन्देही पुगेको जीबी राई र दिपेश पुनको समूह सहकारी डिभिजन प्रमुख नेत्र घिमिरे मार्फत ओमप्रकाश गुरुङको सम्पर्कमा पुगेको थियो। गुरुङ २०५७ सालदेखि बुटवलमा सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक थिए।

गुरुङसँगको भेटपछि सहकारी दर्ता गर्न आएको राई र पुनको समुह मैत्रेय सहकारीमा २०७२ साल माघ २५ गते सदस्य बनेका थिए। माया गुरुङ अध्यक्ष रहेको मैत्रेय सहकारीले राई र पुनसँगै राजु बराल, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राईलाई सहकारीको सदस्यता दिएका थिए।

माघ २५ गते सदस्य बनेका राई सहितको समुह र ओम प्रकाश गुरुङ समेतले फागुन १ गते सहकारीको विशेष साधारणसभा बोलाउन निवेदन दिएका थिए। सोही निवेदनपछि फागुन ३० गते भएको विशेष साधारणसभाबाट मैत्रेय सहकारीको नाम संशोधन गरि सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनाइएको थियो।

१ बैशाख, २०८१, १२:१७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।