७ औँ भरौल गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंको पोल्टामा
काठमाडौं : ७ औँ अन्तराष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले जितेको छ।
शुक्रबार सुनसरीको कालाबंजरमा भएको फाइनल खेलमा न्यु स्टार झापालाई ३-१ गोलले हराउँदै प्लानिङ ब्वाइजले उपाधि जितेको हो।
प्लानिङ ब्वाइज युनाइटेड पाचौं र छैटौँ संस्करणको विजेता टिम पनि हो।
पहिलो हाफमा दुबै टिमले अवसर पाए पनि गोल हुन् सकेन। खेलको दोस्रो हाफको ४ औँ मिनेटमा प्लानिङ ब्वाइजका सुवाङले गोल गरी टिमलाई अग्रता दिलाएका थिए।
त्यसपछि १६ औँ मिनेटमा न्यु स्टारका सुशिल राईको पासमा यामीले हेड मार्फत गोल गरी टिमलाई बराबरीमा ल्याए। निकै रोमाञ्चक बनिरहेको खेलमा प्लानिङ ब्वाइजका तर्फबाट २१ औँ मिनेटमा फागुराम थारुले गोल गरी टिमलाई अग्रता दिलाएका थिए।
एक गोलको अग्रता लिएको प्लानिङ ब्वाइजले खेलको दोस्रो हाफको ३१ औँ मिनेटमा सुवाङले थप गोल गरे।
त्यसपछि न्यु स्टारबाट अन्य गोल हुन नसक्दा १ का विरुद्ध ३ गोलका अन्तरले प्लानिङ ब्वाइजले जित हासिल गरेको हो।
उपविजेता न्यु स्टारले नगद २ लाख ट्रफी र मेडलमा चित्त बुझाउँदा विजेता प्लानिङ ब्वाइज युनाइटेडले नगद ४ लाख ट्रफी र मेडल प्राप्त गर्यो।
चैत ३०, २०८० शुक्रबार २१:५२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।