फिल्म निर्माताको उठीबास लागेको वर्ष

फिल्म निर्माताको उठीबास लागेको वर्ष

काठमाडौं : अघिल्ला वर्षको तुलनामा यसपालि नेपाली फिल्म निर्माणको संख्या ह्वात्तै घटेको छ।

निर्माताहरू पनि पातलिँदै गएका छन्। अघिल्ला वर्षहरूमा ८०–८५ वटा फिल्म रिलिज हुँदै आएकोमा यसवर्ष ५१ वटा मात्र फिल्म रिलिज भए।

चैतको अन्तिम दिन अर्थात् आज फिल्म ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ बाहेक नेपाली बक्स अफिसमा यो वर्ष ५१ वटा फिल्म प्रदर्शन भएका छन्। तर, अधिकांश फिल्मको हालत निर्मातालाई उठीबास लगाउने मात्र भए। 

यस वर्षको सुरुवातमा प्रदर्शनमा आएको दयाहाङ राई अभिनित फिल्म ‘जारी’ले १७ करोड भन्दा बढि रकम कलेक्सन गरेको निर्माताको दाबी छ। तर त्यही दिन दयाकै अभिनय रहेको अर्को फिल्म ‘बिहे पास’ले हलमा पानी समेत भन्न पाएन।

त्यसयता प्रदर्शनमा आएका फिल्म ५१ मध्ये जम्मा २ वटाले नाफा कमाए भने ४ वटाले निर्माताको लगानीसम्म उठाइदिए। फिल्म ‘जारी’ र ‘महाजात्रा’ले नेपालका हलहरूबाट पैसा बोरामा हालेर उठाए। 

फिल्म ‘जारी’ले त केहि हलहरूमा सय दिन समेत मनाउन सफल भएको थियो। फिल्मलाई कवि तथा लेखक उपेन्द्र सुब्बाले निर्देशन गरेका थिए। यो उनको डेब्यु फिल्म हो। 

असोज अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’को कमाई राम्रै गरेको निर्माण टिमको दाबी छ। निर्माण पक्षका अनुसार फिल्मले ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। तर कतिमा निर्माण भएको भने जानकारी दिइएको छैन। 

यही वर्ष प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ हिट बन्यो। समीक्षकका नजरमा मध्यम बनेको यो फिल्म दर्शकले मन पराए। जुन फिल्म चैत ९ गतेबाट प्रदर्शनमा आएको हो। निर्माण पक्षका अनुसार बिहीबारसम्मको फिल्मको कलेक्सनले १४ करोड पार गरेको छ। 

जुन फिल्मले निर्माता डुबाए 

वैशाख १ गते नै हलमा लागेको फिल्म ‘बिहे पास’ र ‘बुलाकी’ले नराम्ररी लगानी डुबाए।

फिल्म ‘जारी’ले दर्शक तानिरहँदा दयाहाङ राई अभिनित अर्को फिल्म ‘बिहे पास’मा दर्शकको खडेरी परेको थियो। दर्शकले फिल्म नहेरेपछि यो फिल्म हलबाट नै उतारियो भने योसँगै प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’को अवस्था पनि उस्तै रह्यो। 

वैशाख १५ गते हलमा लागेको फिल्म ‘नाइँ नभन्नु ल ६’ र ‘प्रसाद २’ दुवै फिल्मको लगानी डुब्यो। फिल्म ‘नाइँ नभन्नु ल ६’का अगाडि ‘प्रसाद २’ ठिकै चलेको थियो तर निर्माताको लगानी बचाउन सकेन। 

वैशाख २१ मा रिलिज भएका ‘ज्याकी–आइ एम २१’ र ‘कैदीको पत्र’ हलमा  दर्शक तानेन। फिल्म प्रदर्शन भएको र हलबाट उत्रिएको दर्शकले भेउ नै पाएनन्।

जेठ १२ गते रिलिज भएको ‘हुक्का’ र ‘टुल्की’ दुवै पत्तासाफ भए। वर्षा शिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’उस्तै भयो।

दयाहाङको अर्का फिल्म ‘नीरफूल’ देखि ‘वेलकम टु हेम्जाकोट’ लाई दर्शकले हलमा लागेको पत्तै पाएनन्।

फिल्मको लगानी डुबाउने फिल्ममा ‘पासाङ’ र ‘डाकिनी’का अलावा ‘अन्तिम संस्कार’,‘परस्त्री’ रहे। सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यो फिल्म ‘परस्त्री’ नेपाली र हिन्दी भाषामा डब गरिएको थियो। तर निर्देशक पाण्डेलाई पहिलो फिल्ममा नै असफल निर्देशकमा रूपमा कित्ताकाट गराइदियो। 

पुराना कलाकार सरोज खनालको निर्देशनमा बनेको फिल्म ‘बगान’को अवस्था उस्तै रह्यो। औसत व्यापार देखाउन सफल भएता पनि यस फिल्मबाट कमब्याक गरेकी करिश्मा मानन्धरलाई उचाइमा पुर्याउन सकेन। 

साउनमा रिलिज भएका दुई फिल्म ‘लुङा’ र ‘ए ढाक्रे दाई’ हलको पर्दामा राम्ररी उघ्रिन नपाउँदै अस्ताए। दर्शकको मुख देख्ने कुरै भएन। 

साउनको अन्तिम हप्ता फिल्म ‘अदृश्य’ प्रदर्शनमा आएको थियो। प्रदर्शनमा आएको कुरा समाचारमा मात्रै सीमित भयो। तर हलमा कोही दर्शक पुगेनन्। 

भदौ १ गते दुई फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ रिलिज भए। यी दुवैले फिल्म चल्नु अघिसम्मको निर्माताको उज्यालो अनुहारलाई रुन्चे बनायो।

यही महिना प्रदर्शनमा आएका ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘महानगर’, ‘जय हो’, ‘गणपति’, ‘ऐंचो पैंचो’, ‘एक भागवत र एक गीता (सामाजिक कथा) र ‘नाङ्गो गाउँ’ मध्ये दुई वटाले ठिकै व्यापार गरे।

फिल्म ‘नाङ्गो गाउँ’ र ‘ऐँचो पैँचो’ले अरू फिल्मका तुलनामा केहि पैसा उठाउन सफल भए।

फिल्म ‘एक भगवत् र एक गीता’ले निर्माताको २ करोड ५० लाख लगानी बालुवामा पानी हाले जस्तै बनाइदियो। फिल्म रिलिजका समयमा अनेक फन्डा गरेका निर्माण टिमले अन्ततः फिल्मको फन्डा काम लागेन। 

भदौमा ८ वटा फिल्म हलमा लाग्दा असोजमा भने ४ वटा मात्र प्रदर्शनमा आए। फिल्म ‘कौसीद’, ‘वानर सेना’, ‘बासेन्जी’ र ‘परदेशी २’ रिलिज हुँदा ‘परदेशी २’ले निर्मातालाई सुरक्षित बनाएको थियो।  

यही वर्षको कार्तिकमा ठूला लगानीमा निर्माण भएका फिल्म ‘पशुपति प्रसाद २’ र ‘दिमाग खराब’प्रदर्शनमा आएका थिए। तर दुवै फिल्मले निर्माता मात्र बचाए। कमाई भने गर्न सकेनन्।

फिल्म ‘दिमाग खराब’का निर्माताले फिल्मको लगानी ४ करोड भएको बताएका थिए। तर पछि कलेक्सन १० करोडको आँकडा भनिएको थियो। त्यस कारण यो फिल्म बक्स अफिसमा ठिक ठिकै मान्न सकिन्छ।

यता फिल्म ‘पशुपति प्रसाद २’को कमाई ८ करोड भएको निर्माण टिमको दाबी छ। 

मंसिर महिनामा रिलिज भएको फिल्म ‘दुई कदम’ र ‘जम्प’ले हलमा टाँसेको पोस्टरको समेत पैसा उठाउन सकेनन्। पुराना लेखक तथा निर्देशक समेत रहेका उदय सुब्बाले निर्देशन गरेको फिल्म ‘दुई कदम’को कमाइ एक कदम अगाडि सरेन।

पुष महिनामा पनि दुई वटा नै फिल्म प्रदर्शनमा आए।

दीपक श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘पर्खि बसे तिमीलाई र घनश्याम लामिछाने निर्देशित चित्रा’। यी दुवै फिल्मले दर्शकलाई हलमा तान्न सकेनन्। दुवै फ्लप फिल्मको टोकरीमा पुगे। 

माघ महिनामा प्रदर्शनमा आएका फिल्म ‘नो विन्टर होलिडेज’, ‘दयारानी’ र ‘हात्तीछाप’ले निर्माता डुबाउने बाहेक कुनै काम गरेनन्। 

यता फागुन महिनामा प्रदर्शनमा आएका फिल्महरूमा ‘जिग्री’,‘गोर्खा वारियर’, ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’, ‘उपहार’,‘रंगेली’,‘काँडेतार’ छन्। सबैको अवस्था उस्तै रहे।  मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को हल्ला खल्ला बढी भयो भने अर्को फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ करोडौं करोड कमाई गरेको हल्ला फिँजाइयो। तर निर्मातालाई सुरक्षित राख्न सकेनन्।

यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘उपहार’को कति कमाई भयो भन्ने जानकारी निर्माण पक्षले गराएन भने अर्को फिल्म ‘रंगेली’ विवादमा नै तानिएको थियो। यसले पनि निर्मातालाई डुबाउने मात्रै काम गर्यो। हल्ला बढी कमाई कम भयो। 

चैत्र ९ गते प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले १४ करोड क्रस गरेको दाबी गरिएको छ। 

यही चैत्र २३ गते शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ को अवस्था हल्लामै सीमित भयो। 

चैत ३०, २०८० शुक्रबार २०:५६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।