दयाहाङले फ्लप फिल्ममा ह्याट्रिक गरेको वर्ष

दयाहाङले फ्लप फिल्ममा ह्याट्रिक गरेको वर्ष

काठमाडौं : २०८० साल नेपाली फिल्म क्षेत्र अभिनेता दयाहाङ राईको कब्जामा रह्यो। 

यसवर्ष उनी अभिनित फिल्म मात्रै ८ वटा प्रदर्शनमा आएका छन्। वैशाखको १ गते नै उनी अभिनित दुई वटा फिल्म हलमा लागेका थिए। 

त्यसताका फिल्म ‘जारी’ र बिहे पास’ प्रदर्शनमा आएको थियो। यसमध्ये  फिल्म ‘जारी’ हिट भयो भने ‘बिहे पास’ फ्लप हुन पुग्यो। 

निकै अपेक्षा गरिएको फिल्म बिहे पासका निर्माता नराम्ररी पछारिए। तर रामबाबु गुरुङको टिमले निर्माण गरेको फिल्म ‘जारी’ले १७ करोड भन्दा बढि कमाई गर्यो। 

उनी अभिनित अर्को फिल्म ‘नीरफूल’ पनि यसै वर्ष प्रदर्शनमा आयो। यो फिल्मले लगानी उठाउनै सकेन। 

रंगपत्रकार फूलमान बलको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले निर्मातालाई डुबायो। यसले हलमा पानी समेत भन्न सकेन। 

एकै खाल्को अभिनय भइरहेको आरोप लागेता पनि दयाले कुनै मतलब गरेनन्। उनले एक पछि अर्को फिल्ममा काम गरिरहे। 

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘नाङ्गो गाउँ’ पनि यसै वर्ष प्रदर्शनमा आयो। गत भदौमा प्रदर्शनमा आएको यो फिल्मले निर्मातालाई ठिकठिकै घाटा लगायो। तर चुर्लुम्म  भने डुबाएन। 

आफ्ना फिल्म एकपछि अर्को प्रदर्शनमा आएपछि दयालाई दर्शकले पत्याउनै छाडिसकेका थिए। 

तर निश्चल बस्नेतको टिमले निर्माण गरेको फिल्ममा जम्बो कलाकारसँग अटाएका दयाले फिल्म ‘दिमाग खराब’मा काम गरेपछि राहत मिल्यो। गत कात्तिकमा प्रदर्शनमा आएको यो फिल्मले भने लगानी सुरक्षित गर्यो। तर सोचे अनुसारको कमाइ नभएको निर्माण पक्षको दाबी छ। 

४ करोडमा बनेको भनिएको यो फिल्मले १० करोड कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको थियो। 

यस फिल्ममा दयाहाङ राईका अलावा  स्वस्तिमा खड्का, खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको थियो। फिल्ममा बलिया कलाकार हुँदा पनि यसको व्यापार भने उल्लासमय होइन।

त्यसपछि माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘दयारानी’ प्रदर्शनमा आयो। यसमा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

गत माघमा प्रदर्शनमा आएको यो फिल्मले लगानी उठाएको निर्माण पक्षको दाबी छ। फिल्मले करिब तीन करोड छेउछाउ पुगेको निर्माण पक्षले जनाए पनि पोखराका हलमा भने फिल्म चलेको थियो। 

यो वर्षको सुरुकै दिनमा दया अभिनित फिल्म प्रदर्शनमा आएको थियो भने अन्तिममा पनि उनकै फिल्म रहेको छ। चैत ३० गतेबाट उनी अभिनित फिल्म ‘डिग्री माइला’ प्रदर्शनमा आएको छ। 

३० चैत, २०८०, १९:११:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।