सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन
काठमाडौं : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सिफारिस समिति गठन गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्नका लागि सिफारिस समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनले भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग दुवैका अध्यक्ष सहित सदस्य नियुक्तिका लागि सिफारिस गर्न समिति गठन भएको छ। अध्यक्षमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र राष्ट्रिय मानव अधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य रहने व्यवस्था छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन्।’
बैठकले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने समेत निर्णय गरेको छ।
चैत ३०, २०८० शुक्रबार १६:०२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।