लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै, मन्त्रालय टुक्र्याएरै मन्त्री बाँड्ने योजना

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै, मन्त्रालय टुक्र्याएरै मन्त्री बाँड्ने योजना

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेश सभाबाट विश्वासको मत लिदैँछन्।

विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

तर सत्ता गठबन्धनभित्रका साना दलहरुले मन्त्रीबिना विश्वासको मत नदिने भन्दै बार्गेनिङ गरेका छन्। मन्त्रालयको टुंगो लगाएर मात्र विश्वासको मत दिने सर्त दलहरूले राखेपछि मुख्यमन्त्री महरालाई अप्ठ्यारोमा छन्।

नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त उनीहरूले अघि सारेका छन्। त्यसपछि मात्र विश्वासको मत दिन सकिने उनीहरुको भनाइ छ।

मुख्यमन्त्री महरा एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जनता समाजबादी पार्टी (जसपा)का ३, एकीकृत समाजवादी पार्टीका १ र स्वतन्त्र एक सांसद गरी ४८ सांसदको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि महराले एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदलाई मन्त्रालय दिने सहमति गरेका थिए। अन्तिम समयमा आएर मुख्यमन्त्रीलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउनुपर्ने अन्यथा विश्वासको मत दिन नसक्ने बताएको छ। उसले भौतिक पूर्वाधार मन्त्रालय र अर्को एक जुन मन्त्रालय भएपनि आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएको छ।

जसपाले पनि दुई मन्त्रालयमा दाबी गरेको छ। एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पनि एक/एक मन्त्रालय पाउनुपर्ने अन्यथा विश्वासको मत दिन नसक्ने शर्त राखेको छ।

स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले मन्त्रालयको टुंगो लागेपछि मात्र विश्वासको मत दिने बताए।

लुम्बिनीमा १० मन्त्रालय छन्। एमालले पाँच मन्त्रालयमा दाबी गरिरहेको छ। माओवादीले मुख्यमन्त्रीसहित ३ राख्दा बाँकी २ मन्त्रालय जसपा र नागरिक उन्मुक्तिलाई दिने तयारीमा मुख्यमन्त्री महरा छन्। तर, सबैले मन्त्री माग्दा महरा अप्ठयारोमा छन्।

‘सहमतको अन्तिम प्रयास गरिनेछ। यदि नमान्ने अवस्था आए मन्त्रालय टुक्राएर भएपनि साना दलहरूलाई सरकारमा सहभागी गराउने योजना छ’, माओवादीका एक सांसदले भने।

लुम्बिनीमा मुख्यमन्त्रीमा महरा सहित एमालेका संसदीय दलका उपनेता चेत नारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिर विना विभागिय मन्त्री छन्।

३० चैत, २०८०, ०७:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।