वर्ष २०८० : राजनीतिमा ‘नयाँ राप्रपा’को उदय

वर्ष २०८० : राजनीतिमा ‘नयाँ राप्रपा’को उदय

काठमाडौं : त्यत्रो जनआन्दोलनको बलमा व्यवस्था बदलिएको ७ वर्षमै सरकारको नेतृत्वमा पुगिन्छ भनेर बहुदलमा ‘पञ्चायतको बिउ जोगाउन’ बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले सायदै कल्पेका थिए होलान्। तर सम्भव भयो २०५३ मा।

नेपाली कांग्रेसभित्रको झगडाले निम्त्याएको मध्यावधि निर्वाचनमा २० सिटसहितको बलियो तेस्रो दलको रूपमा राप्रपा उदाउँदा पहिलो र दोस्रो दल बने पनि न एमालेले बहुमत पायो न कांग्रेसले।

प्रारम्भमा एमालेका अध्यक्ष मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा अल्पमतको सरकार बने पनि सत्ताको स्वाद पाएको कांग्रेस लामो समय प्रतिपक्षमा बस्न सकेन।

८८ सिट जितेको एमाले अनि ८३ सिट जितेको कांग्रेसका लागि बहुमतको सरकार बनाउन राप्रपाको साथ अनिवार्य थियो। मनमोहनको सरकार ढालेर २०५२ भदौ २६ मा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा राप्रपाको समर्थन थियो।

आफ्नो दलको सरकार ढालेकोमा रिसाएको एमालेले राप्रपाभित्र खेलेर २०५३ फागुनमै कांग्रेस नेतृत्वको सरकार ढालेपछि एमालेको समर्थनमा २०५३ फागुन २६ लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए।

राप्रपाभित्रको लुछाचुँडीमा कांग्रेसले खेल्दा चन्द नेतृत्वको सरकार २०५४ असोज १८ मा ढले पनि नेतृत्व राप्रपाका सूर्यबहादुर थापाको हातमा गयो।

२०५४ असोज २० मा थापा प्रधानमन्त्री हुँदै बहुदल आएको ८ वर्षमै ३० वर्षीय पञ्चायतकालमा रजगज गरेकाहरू सत्ता नेतृत्वमा फर्किए।

चन्द र थापा दुवै बहुदल आएको छोटो अवधिमै प्रधानमन्त्री पदमा पुग्नुको कारण त्रिशङ्कु संसद् मुख्य कारण थियो। कांग्रेस प्रस्ट बहुमतमा हुँदा पनि आन्तरिक किचलोले मध्यावधिमा जाँदा बहुदल ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका दुई दल कांग्रेस र एमाले दोस्रो र पहिलो हुँदा राप्रपा सरकार निर्माणको पिएममेकर २० सङ्ख्यासहित प्रतिनिधि सभामा पुग्यो।

कांग्रेस र एमाले मिलेको भए सहजै बहुमतको सरकार बन्थ्यो। तर, राजनीतिक रूपमा एक अर्काको प्रतिस्पर्धी भएकाले उनीहरू मिल्नुको साटो २०४६ मा बल्ल-बल्ल सत्ताबाट बाहिर पठाएका पात्रकै नेतृत्वमा सरकारमा जान राजी भए। ठूला दुई दललाई घुमाउँदै आफ्नै पार्टीका दुई नेतालाई प्रधानमन्त्री बनाउन सफल भयो।

नयाँ राजनीतिक शक्ति र पुराना दलबीचको प्रतिस्पर्धाको रूपमा हेरिएको २०७९ मंसिर ४ को निर्वाचनको परिणाम पनि २०५१ कै मध्यावधिको जस्तै आयो। त्यो बेलामा राप्रपासहित त्रिशङ्कु थियो भने २०७९ मा त अझ छरियो। तर कांग्रेस र एमाले मिलेर सहज बहुमतको सरकार गठनको अवसर थियो र छ नै।

२०५१ कै शैलीमा दुवै दलको नेतृत्व सक्रिय हुँदै 'नयाँ राप्रपा'को रूपमा  २०७९ मा पिएममेकरमा तेस्रो दलको रूपमा माओवादी केन्द्र उदायो। २०५१ मा राप्रपाले २०५ मध्ये बरु १७ प्रतिशत सिट पाएको थियो प्रतिनिधि सभामा।

२०७९ मा माओवादी केन्द्रले २७५ मा जम्मा ११ प्रतिशत मत पायो। प्रत्यक्ष र समानुपातिक गरेर ३२ सिट पाएको माओवादी केन्द्रले ८९ र ७८ सिट पाएको कांग्रेस र एमालेलाई राप्रपा शैलीमा घुमाउँदै निरन्तर सरकारको नेतृत्वमा रहिरहेको छ।

२०५३ बाट राप्रपाकै नेतृत्वमा सरकार रहे पनि प्रधानमन्त्री बदलिए। यो एक वर्षको बिचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन पटक गठबन्धन बदले पनि आफैँ प्रधानमन्त्री बनिरहे। सत्ता केन्द्रमा बस्न उनले राप्रपालाई पनि माथ खुवाए।

सत्ताको खेलमा मौका पाए लगत्तै सहभागी हुने शैली अपनायो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले। २०५१ पछिको राप्रपाले जस्तो प्रधानमन्त्री नै त पाएनन् रास्वपाका सभापति रवि लामिछानेले। प्रारम्भमा २० सिटको बलमा एकै पटक उपप्रधान तथा गृहमन्त्री भए।

निष्क्रिय नागरिकताको प्रकरणसँगै राजीनामा दिन बाध्य भए। यो बिचमा प्रचण्डले पल्टी मारेर एमालेको ठाउँमा कांग्रेसको बुई चढेर सरकार टिकाए। रवि पनि एमालेसँगै प्रतिपक्षमा बसे।

प्रचण्डले काँध फेर्दै कांग्रेसको सट्टा एमालेसँग मिलेसँगै रास्वपा पनि उही उपप्रधान तथा गृहमन्त्रीसहित सत्तामा फर्किएर नयाँ राप्रपाको परिचय दिए।

राप्रपा, पुरानै नेताले भरिएको नयाँ दल एकीकृत समाजवादी अनि जनता समाजवादी लगायतका सत्ताका पुरानै खेलाडीले भरिएका दलहरू पनि थिए नै।

एमाले विभाजित भएर बनेको दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा उदायको केपी ओलीको निरंकुशताको बहादुरीपूर्वक विद्रोह गरेको दाबी गरे पनि सत्ताको खेलमा उनी थापा र चन्दकै प्रवृत्तिमा गए।

माओवादी केन्द्रले बनाएको कांग्रेससहितको दलमा एक वर्ष प्रधानमन्त्री पाउने सर्तमा सहभागी भएका उनी प्रचण्डसँगै प्रधानमन्त्रीको कार्यकाल बाँडिने सर्तमा एमालेसहितको गठबन्धनमा गए। सत्ता गठबन्धनका लागि बस्ने हरेक बैठकमा उनी नत्र... को शैलीमा बार्गेनिङ गर्छन् र अन्तमा चिसै पानीले नुहाउँछन्। 

२०७९ मा रास्वपा मात्रै हैन नागरिक उन्मुक्ति पार्टी अनि जनमत पार्टी पनि ६ र ३ सिटसहित उदाएका थिए। उनीहरू प्रचण्डले जता काँध बदले उतै लागिरहे। तेस्रो पटक काँध बदल्दा नागरिक उन्मुक्तिमा श्रीमान्-श्रीमतीबीचै कलह सल्कियो। बरु जनमत पार्टी प्रतिपक्षमा बस्यो।

नयाँ राप्रपा प्रवृत्तिका कारण प्रधानमन्त्री प्रचण्ड नै कायम रहे पनि एक वर्षको अवधिमा तीन पटक मन्त्रीहरू बदलिए। पटक-पटक मन्त्री बदलिइरहँदा अर्थतन्त्रदेखि सरकारको दैनिक काममा समेत नकारात्मक प्रभाव पर्यो नै।

केन्द्रमा सत्ता बदलिँदा प्रदेशमा समेत सरकार बदल्ने खेल हुँदा सातै प्रदेशको सरकार समेत स्थिर हुन सकेन। मुख्यमन्त्रीदेखि मन्त्रीसम्म बदलिइरहे। राजनीतिक अस्थिरता बिकेन्द्रित भयो।

नयाँ कलरका नयाँ राप्रपा शैलीका नयाँ दलहरूले सरकारलाई म्युजिकल चियर बनाउँदा राजनीतिक रूपमा २०८० अस्थिर वर्षको रूपमा अङ्कित भयो।

'समाज र देश परिवर्तनका लागि हतियार उठाएको' दाबी गरेर शान्तिपूर्ण राजनीतिमा आएको दल वैचारिक रूपमा क्रान्तिकारी नै देखिए पनि प्रवृत्तिको रूपमा नयाँ राप्रपाको कित्तामा पुग्यो। नयाँ संस्कारसहितको राजनीति भन्दै आएको दलको हैसियत एकै वर्षमा उदाङ्गियो।

चैत ३०, २०८० शुक्रबार ०८:२२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।