जंगलमा आगलागी हुँदा च्याउ टिप्न गएका एकै परिवारका तीन बालबालिका घाइते

जंगलमा आगलागी हुँदा च्याउ टिप्न गएका एकै परिवारका तीन बालबालिका घाइते

काठमाडौं : डोल्पाको सुँ सामुदायिक वनमा आगलागी हुँदा तीन बालबालिका गम्भीर घाइते भएका छन्। 

बिहीबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर एउटै घरका दाजुभाइसहित तीन बालबालिका घाइते भएका हुन्।

घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।

दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरू आगलागीमा परेका थिए। घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ। 

काठमाडौंबाट हेलिकप्टर जान नसक्दा घाइते भएका तीन जना बालकहरूको उपचार हुन सकेको छैन।

जिल्ला अस्पतालले ती बालकहरूलाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेपनि मौसमका कारण काठमाडौंबाट हेलिकप्टर जान नसकेको र ती बालकहरूको अवस्था गम्भीर भएको डोल्पाका प्रहरी प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।

डोल्पामै गत मङ्गलबार ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो।

चैत २९, २०८० बिहीबार २१:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।