गृहमन्त्री लामिछानेको पूजा मोह : जनकपुरबाट वीरगन्ज जाँदै थिए, बारामा रोकिएर गढीमाईको पूजापाठ

गृहमन्त्री लामिछानेको पूजा मोह : जनकपुरबाट वीरगन्ज जाँदै थिए, बारामा रोकिएर गढीमाईको पूजापाठ

काठमाडौँ : बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मधेश प्रदेश स्तरीय एक दिने सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका थिए। 

समग्र मधेश प्रदेशको सुरक्षा अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल भएको उक्त कार्यक्रम सकेर उनी मधेशका अन्य जिल्लाहरूको दौडाहा लागे। त्यसपछि जनकपुरबाट वीरगन्ज जाँदै गर्दा उनी त्यही बाटोअन्तर्गत बारामा रोकिए। र, गढीमाई मन्दिरको दर्शन गर्न पुगेका हुन्।

गृहमन्त्री लामिछानेले बिहीबार गढीमाई मन्दिरमा पूजापाठ गरे।

बारास्थित महागढीमाई नगरपालिकामा रहेको गढीमाई मन्दिर दर्शन गर्न पुगेका लामिछानेलाई मन्दिरका पुजारी मंगल चौधरीले पूजापाठ गराएका हुन्।

‘गृहमन्त्रीज्यूले वीरगन्ज जाने क्रममा गढीमाई मन्दिरमा पुगी माताको दर्शन तथा पूजा पाठ गर्नुभएको हो’ बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले भने।

पूजापाठपछि वीरगन्जमा आयोजित कार्यक्रममा सहभागी हुन लामिछाने वीरगन्ज तर्फ प्रस्थान गरेका छन्।

एक वर्षअघि यही मन्दिरमा लामिछानेले कसम खाँदै आफ्नै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने बताएका थिए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्रि  बन्नका लागि पार्टीमा दुई करोड बुझाउनुपर्ने भन्दै उक्त रकमको डिल गरेको अडियो सार्वजनिक भएपछि लामिछानेले श्रेष्ठलाई ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका थिए।

उनले भनेका थिए, ‘पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ। मैले ७२ घण्टाको अल्टिमेटम दिएको २ घन्टा भइसक्यो, अब ७० घन्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिँन भने मलाई यही गढिमाईमा बलि दिनुहोला।’

चैत २९, २०८० बिहीबार १८:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।