‘डिग्री माइला’को लेखक बेपत्ता

‘डिग्री माइला’को लेखक बेपत्ता

काठमाडौं : यतिबेला नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को चर्चा छ। 

फिल्मका कलाकारदेखि निर्मातासम्मको चर्चा समाचारपत्र र अनलाइनमा छ्यापछ्यापी छन्। सामाजिक सञ्जाल पनि त्यतिकै भरिएको छ। 

निर्देशक रामबाबु गुरुङदेखि फिल्मका कलाकारहरू दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङसम्मले अन्तवार्ता दिइरहेका छन्। उनीहरू आफ्नो फिल्मको सक्दो प्रचारप्रसार गरिरहेका छन्। दर्शकले पनि सार्वजनिक भएको फिल्मको पोस्टर, ट्रेलरलाई दर्शकले राम्रै मन पराइरहेका छन्। 

तर, यो फिल्मको लेखक भने गुमनाम छन्। फिल्मका लेखक को हुन्? यसको जवाफ न फिल्मको पोस्टरले दिन्छ न ट्रेलरले। 

फिल्मको कथा, पटकथा तथा संवाद कस्को हो भनेर खोज्ने हो भने कहीं कतै लेखकको नाम भेटिँदैन। 

के लेखक बिना पनि फिल्म बन्छ र? यति बेला फिल्मको लेखक खोजीको चर्चा सामाजिक सञ्जालमा हुन थालेको छ। खासमा यसको लेखक को हुन त्? 

केहि दिनअघि नेपाल हाउसको प्रेसमिटमा निर्माण टिमले यस फिल्मलाई चार जनाले  लेखेको जानकारी दियो। फिल्मलाई राजन मुकारुङ, उपेन्द्र सुब्बा, दयाहाङ राई र निर्देशक रामबाबु गुरुङ मिलेर लेखिएको भन्ने थियो। तर फिल्मको पोस्टर हेर्ने हो भने उनीहरुको नामै राखिएको छैन। 

आखिर उनीहरुले किन फिल्मको लेखकलाई पोस्टर र ट्रेलरमा अटाउन सकेनन्? जवाफ शुक्रबार आउला कि!

२९ चैत, २०८०, १७:४६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।