फिल्म ‘डिग्री माइला’ले २ सय ५० शो पाउँदा ‘द रेड सुटकेस’ले पायो ५३, महाजात्रा सयमाथि

फिल्म ‘डिग्री माइला’ले २ सय ५० शो पाउँदा ‘द रेड सुटकेस’ले पायो ५३, महाजात्रा सयमाथि

काठमाडौँ : शुक्रवारबाट रिलिज हुन लागेको फिल्म डिग्री माइलाले पहिलो दिन दुई सय ५० हाराहारीको शो पाएको छ। शुक्रवारै अन्तर्राष्ट्रिय मञ्च र विशेष शोबाट प्रशंसा पाएको फिल्म ‘द रेड सुटकेस’ले पहिलो दिन ५३ शो पाएको छ।

राम्रो शो नदिएको भन्दै क्यूएफएक्स चेनमा फिल्म रिलिज नगर्ने द रेड सुटकेसको निर्माण टिमको निर्णयको केही लाभ डिग्री माइला र महाजात्राले पायो। शुक्रवार दुई नयाँ नेपाली चलचित्र रिलिज हुँदा पनि महाजात्राले एक सय माथिको शो पाएको छ।

डिग्री पास गरेको गाउँको युवाको फुर्तीमा केन्द्रित फिल्म डिग्री माइलाको मुख्य भूमिकामा दयाहाङ राई छन्। उनले अभिनय गरेको फिल्म हात्तिछाप र रंगेली सफल भएनन्। डिग्री माइलामा पनि त्यही नियति तेहरिए लगातार फिल्म फ्लप हुनेमा दयाहाङले ह्याट्रिक गर्नेछन्। 

तर ट्रेलर रिलिज भएदेखि ‘डिग्री माइला’ले राम्रो हाइप बनाएको छ। त्यसको प्रभाव फिल्मले पाएको शो सङ्ख्यामा पनि परेको देखिन्छ। दयाहाङ आफ्नै फ्यान फलोइङ बनाउन सफल भइसकेका पनि छन्। 

दयाहाङको अपोजिट भूमिकामा आँचल शर्मा छिन्। फिल्मको मुख्य आकर्षक दयाहाङ नै देखिएकाले उनको अभिनय र फिल्मको निर्माणको स्तरले आगामी दिनमा यसको शो घट्ने या बढ्ने निर्क्योल हुनेछ नै।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपालमा गरिएको विशेष शोबाट राम्रै प्रशंसा पाएको फिल्म ‘द रेड सुटकेस’ले रिलिजकै दिन शो सङ्ख्यामा धक्का पायो। वैदेशिक रोजगारीको कहरमाथि केन्द्रित भएर निर्माण भएको सस्पेन्स फिल्मको मुख्य भूमिकामा सौगात मल्ल छन्। उनलाई विपिन कार्की र प्रवीण खतिवडाले साथ दिएका छन्।

यता नेपालमा फिल्म रिलिजको तयारीकैक्रममा एचबिओले ओटीटीमार्फत युरोपका १५ देशमा प्रदर्शन गर्ने अधिकार किनेसँगै फिल्मले नेपाली दर्शकमाझ चासो निर्माण गरेको थियो। फिल्मको ट्रेलर रिलिज भएदेखि नै फिल्मका पारखीहरूबाट प्रशंसा पाएको फिल्मको व्यापार भने आम दर्शकको रोजाइले निर्धारण गर्नेछ।

प्राय अन्तर्राष्ट्रिय दर्शक केन्द्रित गरेर निर्माण भएका फिल्महरूले नेपालमा सीमित दर्शकमाझ प्रशंसा पाउने गरे पनि धेरै दर्शकसम्म भने पुग्न सकेको देखिँदैन। नेपाली फिल्मको पटकथा र कथा भन्ने शैलीमा दर्शकको गुनासो बढिरहेको छ।

नेटफ्लिक्स लगायतका अन्तर्राष्ट्रिय ओटिटीबाट मेलोड्रामाहिन अन्तर्राष्ट्रिय मञ्चमा सफल भएका फिल्मको स्वाद पाइसकेका दर्शकमाझ 'द रेड सुटकेस' पुग्न सफल भएमा आगामी दिनमा शो सङ्ख्या बढ्न सक्छ।

उता जात्रा शृङ्खलाको सबैभन्दा कमजोर फिल्म  'महाजात्रा' व्यापारिक रूपमा भने यो श्रृंखलाको सबैभन्दा सफल फिल्ममा दरिने दौडमा देखिन्छ। जात्राले शुक्रवार पनि एक सय भन्दा बढी शो पाएको छ।

समीक्षकहरूबाट मध्यम प्रतिक्रिया पाएको फिल्मले दर्शकको साथ राम्रै पायो। यति कमजोरीसहितको फिल्मलाई दर्शकले गरेको मायाको गुन अर्को फिल्ममा कमजोरी सुधारेर तिर्लान् या समीक्षकले जे लेखे पनि फिल्म त चलिहाल्ने रैछ भनेर गमक्क परेर गल्ती दोहोर्याउने हुन् निर्देशक प्रदीप भट्टराइको अर्को फिल्ममा देखिने नै छ।

२९ चैत, २०८०, १७:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।