ईपीएस भाषा परीक्षा : १ लाख ६३ हजारले आवेदन फारम भरे, पहिलो चरणमा १५ प्रतिशत मात्र उत्तीर्ण

ईपीएस भाषा परीक्षा : १ लाख ६३ हजारले आवेदन फारम भरे, पहिलो चरणमा १५ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं :  रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनमूलक क्षेत्रका लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। 

ईपीएस कोरिया शाखाले गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षामा १५ प्रतिशत मात्र उत्तीर्ण भएको नतिजा सार्वजनिक गरेको छ। 

शाखाले सन् २०२३ का लागि अनुमानित १५ हजार जनालाई कोरियाको उत्पादनमूलक क्षेत्रमा लैजान भन्दै दरखास्त आह्वान गरिएको थियो। जसमा १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका थिए।  

नतिजाअनुसार उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्। अब उनीहरूको २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ।  

दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ।  

अब दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ। उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ। 

तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन्। जुन परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ। 

चैत २८, २०८० बुधबार २०:२२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।