शेखर कोइरालाले दोहोर्याए- 'कांग्रेस र एमाले मिल्नुको विकल्प छैन'

शेखर कोइरालाले दोहोर्याए- 'कांग्रेस र एमाले मिल्नुको विकल्प छैन'

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने भन्दै त्यसका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताएका छन्। 

लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा उनले अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको बताए। निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनको भनाइ छ।

यसअघि पनि कांग्रेस एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताउँदै आएका उनले संविधान संशोधनमार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने दोहोर्याए। 

उनले भने, 'कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने? जनताका काम कहिले गर्ने? विकास कहिले गर्ने?' 

नेता कोइरालाले संविधानसभाको पहिलो निर्वाचनबाट कम्युनिस्टहरू पटक–पटक सत्तामा पुगे पनि संविधान बनाउन नसकेको र दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मात्र संविधान बनेको बताए। 

'परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्न पर्यो। त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ,' नेता कोइरालाले भने। 
 

२८ चैत, २०८०, १९:५३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।