सेयर बजारमा १०.७१ अंकको गिरावट, कारोबार पनि घट्यो
काठमाडौं : सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो।
उत्पादन तथा प्रशोधनबाहेक ११ उप-सूचकमा आएको गिरावटले परिसूचक घटेको हो। कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ।
आज ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा रकम ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँमा सीमित रह्यो।
हिजो ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको थियो भने साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो।
१३ उप-समूहमा व्यापार १.४६ र उत्पादन तथा प्रशोधन ०.१३ प्रतिशतको बढोत्तरी छ। अन्य सबै उप-समूह घटेका छन्। सर्वाधिक फाइनान्स उप-समूह २.५० प्रतिशत छ।
आज १७६ कम्पनीको सेयर मूल्य घट्दा सेयर लगानीकर्तालाई नोक्सान भएको छ। ६३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
सेयर मूल्य बढेका कम्पनीमा माण्डु हाइड्रोपावर र खानीखोला हाइड्रोपावर छन्।
आज उच्च कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा आएको छ। हिमालयको सेयर १२ करोड ५४ लाख रुपैयाँको किनबेच भएको छ।
यस्तै, गोर्खाज फाइनान्सको ११ करोड १२ लाख, नेपाल फाइनान्सको ९ करोड ७७ लाख र पोखरा फाइनान्सको सेयर ९ करोड ७६ लाख रुपैयाँको किनबेच भएको छ।
सेयर मूल्य घट्दा सर्वाधिक नोक्सानीमा सिंगटी हाइड्रोपावरका लगानीकर्ता रहे। उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।
यस्तै वीन नेपाल लघुवित्त, एनआइसी एसिया सेलेक्ट फण्ड–३०, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त लगायतका सेयर मूल्य घटेका छन्।
चैत २८, २०८० बुधबार १५:३४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।