अर्थतन्त्र बचाउन सरकारको साइज घटाउनुपर्छ : अमरेशकुमार सिंह

अर्थतन्त्र बचाउन सरकारको साइज घटाउनुपर्छ : अमरेशकुमार सिंह

काठमाडौं : स्वतन्त्र सांसद् अरमेशकुमार सिंहले अर्थतन्त्रलाई लयमा ल्याएर देश बचाउन सरकारको साइज घटाउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा सिंहले अर्थतन्त्र सुधार्न सरकारको साइज घटाउनुपर्ने भन्दै जोसुकै अर्थमन्त्री आए पनि अर्थतन्त्र सुधार्न नसक्ने बताए।

‘जुनसुकै अर्थमन्त्री आएर पनि यो देशमा केही पनि हुँदैन, किन हुँदैन भने अर्थतन्त्रको साइजभन्दा कम्तीमा १० गुणा ठूलो सरकारको साइज भयो,’ उनले भने, ‘राजश्वको सबै पैसा मन्त्री र सरकारका कर्मचारीको तलबभत्तामा सकिन्छ भने अर्थतन्त्र कसरी सुध्रिन्छ? त्यसैले देशको अर्थतन्त्र बचाउन पनि सरकारको साइज घटाउन जरुरी छ।’

पूर्व पदाधिकारी र पूर्वहरूको नाममा जनताको कर लुट्ने काम भइरहेको भन्दै त्यस्तो पद खारेज गर्नुपर्ने उनको धारणा छ।

‘आजीवन सुविधा पाउने पूर्वहरूको नाममा जसरी देशको जनताको कर लुट्ने काम भएको छ, त्यो ठिक छैन,’ उनले थपे, ‘ दुनियाँमा कहिँ पनि पूर्वपदाधिकारीहरूको पद छैन।’

२०४७ सालपछि सत्तामा गएका नेता, मन्त्री, कर्मचारी, न्यायाधीश र सुरक्षा निकायका सम्पूर्णको स्वतन्त्र न्यायिक छानिबन हुनुपर्ने बताउँदै उनले देशको आधाभन्दा बढी पैसा विदेश गएको र बाँकी आधा पैसा नेता र कर्मचारीले लुटेर राखेको बताए।

चैत २८, २०८० बुधबार १३:१५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।