रविसँग ज्ञानेन्द्रको चित्त दुखाइ- ‘उबेला काँध हालेर हिँडे, अहिले मलाई नै पक्रिन लगाउने?

रविसँग ज्ञानेन्द्रको चित्त दुखाइ- ‘उबेला काँध हालेर हिँडे, अहिले मलाई नै पक्रिन लगाउने?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले देशको संविधान ठूलो कि भनेर गृहमन्त्री भनेर प्रश्न गरेका छन्।

बुधबारको प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले गृहमन्त्री रवि लामिछानेले मंगलबार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको बताए।

‘यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो?’, उनले भने, ‘नेपालको संविधानले स्पष्ट भनेको शान्तिपूर्ण रुपले कुनै पनि समूह वा दलले आफ्नो मत राख्न पाउँछन्। निषेधाज्ञा कहाँ गर्नुपर्छ भन्ने थाहा छ कि छैन।’

रत्नपार्क, भृकुटीमण्डप, भद्रकालीको मन्दिरमा समेत निषेधाज्ञा गरिएको भन्दै निषेधाज्ञा कहाँ गर्ने भन्ने राम्रोसँग ज्ञान लिन पनि आग्रह गरे। गृहमन्त्री लामिछानेकै आदेशमा आफूलाई डीएसपी लगाएर पक्राउ गरेको र कपडा च्यातिएको उनले बताए।

उनले रवि लामिछाने चितवनको जेलमा हुँदा आफूले उनको रिहाइको माग गर्दै आन्दोलनमा होमिँदा पनि त्यति निर्मम र दमन भएको उल्लेख गर्दै आफूलाई पक्राउ गरेकोमा चित्तसमेत दुखाए।

‘त्यो बेला रवि लामिछानेलाई काँध हालेर हिँड्ने एक जना व्यक्ति म हो,’ उनले थपे, ‘हिजो मलाई गृह मन्त्रालयको आदेशमा डीएसपीलाई पक्रिन लगाएर मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभो। त्यहीभएर यसलाई हामीले कालो दिनका रूपमा लिएका छौं।’

अहिले रवि लामिछानेको पक्षमा बाेलेकाहरूले उनी पक्राउ पर्दा उनको विपक्षमा बाेलेको र अहिले उनीहरू नै राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सांसद बनेकोसमेत उनको भनाइ छ।

मंगलबार राप्रपाले गरेको आन्दोलनका क्रममा घाइते भएका १८ जना अहिले पनि अस्पतालको शय्यामा उपचाररत भएको बताउँदै पूर्वमन्त्री बुद्धिमान तामाङ समेत घाइते रहेको जानकारी गराए।

सांसद शाहीले सहकारी ठगीमा आरोपी लामिछानेमाथि छानिबन गर्नुपर्ने माग दोहोर्याउँदै २०४७ सालपछि पदमा बसेका मानिसहरूका बारेमा अनुसन्धान र छानिबन गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसले रोक्यो भन्दै प्रश्नसमेत गरे।

चैत २८, २०८० बुधबार १२:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।